
पोखरा। पोखरा महानगरपालिका-२२ स्थित पीपलडाली-खाल्से सडक स्तरोन्नति योजना सोमबार औपचारिक रूपमा सुरु गरिएको छ। एक विशेष कार्यक्रमका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले योजनाको शिलान्यास गरे।
लामो समयदेखि स्रोत अभावका कारण अलपत्र रहेको यो सडकलाई यस वर्ष महानगरको विशेष प्राथमिकतामा राखिएको मेयर आचार्यले बताए। २०८३ भदौ ७ गतेभित्र काम सम्पन्न गर्ने सम्झौता भइसकेकाले निर्माण कम्पनीलाई गुणस्तरमा कुनै सम्झौता नगर्न उनले कडाइका साथ सचेत गराए।
“ग्रामीण बस्तीलाई बजारसँग जोड्ने आधारभूत पूर्वाधार नै स्तरीय सडक हो,” मेयर आचार्यले भने, “यो सडक बनेपछि स्थानीय उत्पादनको बजार पहुँच विस्तार हुनेछ र कृषिजन्य सामग्रीको व्यावसायिक प्रवाहमा ठूलो सहयोग पुग्नेछ।”
आचार्यले निर्माण कार्य सहज बनाउन जनप्रतिनिधि र स्थानीय उपभोक्तालाई सक्रिय भूमिका निर्वाह गर्न पनि आग्रह गरे।
वडा नं.२२ का अध्यक्ष हिमलाल बरालले विभिन्न निकायका आश्वासनमा ढिलाइ भए पनि मेयर आचार्यको सक्रियताले आवश्यक स्रोत जुट्न सकेको उल्लेख गर्दै आफूहरू जनताको सेवकका रूपमा निरन्तर लागिपरेको बताए।
कार्यक्रममा सहभागी स्थानीयवासीले वर्षौँदेखि अलपत्र परेको सडक अब बन्ने भएपछि खुसी व्यक्त गर्दै तोकिएको समयमा गुणस्तरीय निर्माण सम्पन्न गर्न आफूहरू पूर्ण साथ रहने प्रतिबद्धता जनाए।
सडक निर्माणको ठेक्का भान्जा बी एन्ड बी जेभीले पाएको छ। करिब ३.५ किलोमिटर लामो सडक ८ मिटर चौडाइ, नाला निर्माणसहित २ सेमी ब्ल्याकटपमा उन्नत गरिनेछ।
परियोजनाको लागत ३ करोड ७८ लाख ४ हजार ८६ रुपैयाँ ७९ पैसा रहेको छ।



