आगामी निर्वाचनमा सुरक्षा चुनौती तीव्र, ३५ सय मतदान केन्द्र अति संवेदनशील, केही दिनमै सेना खटाउने सरकारको तयारी

192
0
Share:

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सुरक्षा समितिले देशभर सुरक्षा जोखिम बढ्दै गएको निष्कर्ष निकालेको छ। २०७९ मंसिर ४ मा भएको निर्वाचनको तुलना गर्दा यसपटक ५७२ वटा थप मतदान केन्द्र अति संवेदनशील देखिएको समितिको विश्लेषणले जनाएको हो।

समितिले तीन वर्षपहिलेकै मतदान केन्द्रका आधारमा जिल्लाबाट विवरण मागी अध्ययन गरेको थियो। सोही अनुसार २०७९ मा अति संवेदनशील मानिएका २ हजार ९४६ मतदान केन्द्रको संख्या बढेर यसपटक ३ हजार ५१८ पुगेको एक अधिकारीले जानकारी दिए।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मतदाता नामावली संकलन भइरहेकोले मतदान केन्द्र संख्या केही थपघट हुन सक्ने उल्लेख गर्दै निर्वाचन आयोगले अन्तिम सूची टुंग्याएपछि नयाँ विश्लेषनसहित सुरक्षा योजना लागू हुने बताए।

निर्वाचन आयोगले पहिल्यै १० हजार ९२६ मतदान केन्द्र तोकेको थियो। तीमध्ये अति संवेदनशील ३ हजार ५१८ रहेका छन् भने संवेदनशील केन्द्र पनि १०० भन्दा बढी बढेर ४ हजार ५२९ पुगेका छन्। गत निर्वाचनमा संवेदनशील केन्द्र ४ हजार ४२३ थिए।

यता, सामान्य सुरक्षा अवस्थामा मानिएका मतदान केन्द्र भने घटेका छन्। यसअघिको निर्वाचनमा ३ हजार ३८७ सामान्य केन्द्र रहेकामा यसपटक संख्या २ हजार ८७९ मा झरेको छ।

प्रवक्ता काफ्लेले सरकार सुरक्षा चुनौतीप्रति सतर्क रहेको बताउँदै भने, “सुरक्षा संवेदनशीलता छ। सरकारले पहिचान गरेर योजना बनाइसकेको छ। अब योजना अनुसार सुरक्षाकर्मी फिल्डमा खटिन्छन्। हरेक कर्मचारी, मतदाता र उम्मेदवारलाई सुरक्षाको पूर्ण प्रत्याभूति सरकार दिन्छ।”

कमेन्ट गर्नुहोस्
Share: