
काठमाडौं । खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघ (क्यान) को संयुक्त पहलमा एनपीएल हेरेर राति घर फर्किन कठिनाई हुने दर्शकहरूको सुविधाका लागि आजदेखि विशेष निःशुल्क बस सेवा सञ्चालनमा आउने भएको छ। विशेषगरी महिला, वृद्ध तथा अशक्त समर्थकलाई लक्षित बनाइिएको यो सेवा खेल अवधिभर हरेक साँझ ६ बजेदेखि ८ बजेसम्म उपलब्ध हुनेछ।
त्रिवि क्रिकेट मैदान (टीयू ग्राउन्ड) मा हुने खेल अवलोकनपछि स्वतन्त्र र सुरक्षित रूपमा घर फर्किन मद्दत पुर्याउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो। दर्शकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै चारवटा मुख्य रुटमा निःशुल्क बस चलाइनेछ।
सञ्चालन हुने रुटहरूमा रुट १ : टीयू गेट – स्वयम्भू – बालाजु, रुट २ : टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज, रुट ३ : टीयू गेट – बल्खु-कालिमाटी-थापाथली – बनेश्वर – तिनकुने – गौशाला – चाबहिल तथा रुट ४ : टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर रहेको छ ।
खेलकुद मन्त्रालयका अनुसार राति दर्शकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने यो सेवा पहिलोपटक व्यापक रूपमा सञ्चालन हुन लागेको हो। क्यानका पदाधिकारीहरूले यसले महिला तथा अशक्त दर्शकका लागि सुरक्षित यातायात सुनिश्चित गर्ने बताउँदै समर्थनका लागि दर्शकलाई धन्यवाद व्यक्त गरेका छन्।
एनपीएलको उत्साहसँगै सुरक्षित यात्राको यस्ता पहलले नेपाली खेलमैदानमा सकारात्मक वातावरण निर्माण भएको सरोकारवालाहरूको भनाइ छ।
