नेपाल लाइफ इन्स्योरेन्सको सेवा विस्तार, पोखरा र तनहुँमा दुई नयाँ उपशाखा संचालन

Share:

पोखरा । जीवन बीमा व्यवसायलाई अझ सुलभ र पहुँचयोग्य बनाउन नेपाल लाइफ इन्स्योरेन्सले गण्डकी प्रदेशमा आफ्नो सेवा विस्तार गरेको छ। कम्पनीले बिहीबार पोखराको बिरौटामा र तनहुँको दुलेगौडामा दुई नयाँ उपशाखा एकैदिन संचालनमा ल्याएको छ।

पोखराको बिरौटा उपशाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली तथा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रले संयुक्त रूपमा गरे। त्यस्तै, दुलेगौडाका उपशाखाको उद्घाटन पनि पराजुलीले नै सम्पन्न गरे।

पराजुलीले सेवा विस्तारको मुख्य उद्देश्य बीमालाई ‘ग्रासरुट लेबल’ सम्म पुर्‍याउने रहेको उल्लेख गर्दै गण्डकी प्रदेशमा नयाँ/नयाँ बजार पहिचान गरी सेवा प्रवाहलाई व्यापक बनाउने निर्देशन कर्मचारी तथा अभिकर्ताहरूलाई दिए।

“हाम्रा सेवाहरूलाई सहज रूपमा जनतासम्म पु(याउन उपशाखा विस्तार अपरिहार्य छ,” उनले भने।

उद्घाटन समारोहमा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख मिश्रले अभिकर्ता चयनमा विशेष सावधानी अपनाउन र बीमितलाई समयमै सेवा–सुविधा पुर्‍याउन कम्पनीलाई आग्रह गरे।

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी गण्डकी च्याप्टरका अध्यक्ष बद्री पौडेलले नेपाल लाइफले बीमा क्षेत्रमा देखाएको पेशागत प्रभावबारे सकारात्मक मूल्यांकन गर्दै विक्रि पछिको सेवा अझ उत्कृष्ट बनाउनुपर्छ भन्ने सुझाव राखे।

नेपाल लाइफ इन्स्योरेन्स प्रदेश कार्यालय गण्डकीका प्रमुख शहदेव अधिकारीले बिरौटामा उपशाखा स्थापना गरिनुको कारण बीमा व्यवसायको सम्भावना अध्ययनको नतिजा भएको बताए।

“उपशाखा विस्तारसँगै कम्पनीको बजार क्षेत्र बढ्नेछ र धेरै नागरिकलाई बीमाको दायरामा ल्याउन मद्दत पुग्नेछ,” अधिकारीले भने।

कार्यक्रममा आर्थिक विभाग प्रमुख प्रेमप्रसाद रेग्मी र नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता संघका केन्द्रीय सदस्य दामोदर सापकोटाले पनि नयाँ उपशाखाबाट कास्की र आसपासका क्षेत्रमा बीमा पहुँच अझ प्रभावकारी हुने अपेक्षा व्यक्त गरे।

नेपाल लाइफको पोखराको न्युरोडमा आधुनिक सुविधासहित प्रादेशिक कार्यालय रहेको छ। नयाँ उपशाखा थपिएसँगै गण्डकी प्रदेशमा कम्पनीको सेवा सञ्जाल अझ मजबुत बन्दै गएको छ।

कमेन्ट गर्नुहोस्
Share: