
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वस्थ समाज निर्माणमा खेलकुदलाई अनिवार्य आधारस्तम्भका रूपमा व्याख्या गरेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजना भएको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले खेलले युवाको शरीरसँगै मनोविज्ञानिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताए।
प्रदेश प्रमुख भट्टका अनुसार गाउँ-गाउँबाट प्रतिभावान खेलाडीको पहिचान गर्दै केन्द्रसम्म प्रतिस्पर्धाको अवसर दिने राष्ट्रपति रनिङ शिल्ड कार्यक्रम संरचनात्मक हिसाबले नै उत्कृष्ट छ। “गाउँ तहबाटै सहभागिताको अवसर मिलेकाले हजारौँ विद्यार्थी खेलकुदमा आकर्षित भएका छन्,” उनले भने, “यसले दुर्गम क्षेत्रका खेलाडीलाई राष्ट्रिय स्तरसम्म अघि बढ्न ठूलो टेवा दिएको छ।”
उनले खेलकुदले युवा पुस्तामा जोश, जाँगर र आत्मविश्वास अभिवृद्धि गर्दै विद्यार्थी, अभिभावक, स्थानीयवासी र जनप्रतिनिधिबीचको सामाजिक नातालाई अझ सुदृढ बनाउनेतर्फ योगदान पुर्याएको उल्लेख गरे। खेलमा सक्रियता राख्ने युवाहरू स्वास्थ्यप्रद जीवनशैलीमा बस्न प्रेरित हुने र दिगो विकासका गतिविधिमा अग्रणी भूमिका खेल्न सक्ने उनको तर्क छ।
“सानै उमेरदेखि खेलकौशल सिकेकाले व्यक्ति अनुशासित, परिपक्व र नेतृत्व क्षमतासम्पन्न बन्छ,” प्रदेश प्रमुख भट्टले भने, “युवाले खेललाई जीवनको माध्यम बनाउँदा आत्मसम्मान बढ्छ, सामाजिक सीप निखारिन्छ, उज्ज्वल भविष्यको बाटो खुल्छ।”
समारोहमा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रवक्ता भरतमान गुरुङ र प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि बराललगायतले पनि आफ्नो धारणा राख्दै स्थानीय तहमा खेलकुदको प्रभावकारी विस्तारका लागि प्रतिबद्धता व्यक्त गरेका थिए।
