
पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका-८, बगाले टोलमा लागू औषध कारोबार तथा सेवन भइरहेको गुप्त सूचनाका आधारमा गरेको छापामारीबाट ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
बुधबार राति करिब ८ बजे कास्की जिल्ला प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरो, पोखराको संयुक्त टोलीले छापा मार्दै २८ वर्षीय जाबिद हुसेन र २६ वर्षीया अनु श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। दुवै जना हाल पोखरा-८ मा बस्दै आएका हुन्।
उनहरूको कोठामा खानतलासी गर्दा चुरोटका बट्टामा लुकाइ राखिएका ५ साना पुडिया फेला परेका प्रहरीका अनुसार ती पदार्थ तत्काल तौल गर्दा जम्मा ७ ग्राम ८ मिलिग्राम ब्राउनसुगर रहेको पुष्टि भएको छ।
प्रहरीले पक्राउ परेकालाई कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी लागुऔषधसम्बन्धी मुद्दामा विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।
कास्की प्रहरीले आफ्ना क्षेत्रका संवेदनशील स्थानमा निगरानी कडा पार्दै लागुऔषध बिक्री-वितरणमा संलग्न व्यक्तिमाथि निरन्तर कारबाही जारी रहने चेतावनी दिएको छ।
