‘म त रक्तदान गर्दैछु, तपाईं नि ?’

Share:

पोखरा । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा आउँदो शनिबार पोखरामा बृहद रक्तदान कार्यक्रम हुने भएको छ। समाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक वर्ष वार्षिकोत्सवकै अवसरमा आयोजना गर्दै आएको कार्यक्रम यस वर्ष मंसिर ६ गते बिहान ७ बजेदेखि १२ बजेसम्म एभरेस्ट एफएमको प्राङ्गण, पोखरा-५ प्रस्याङमा सम्पन्न हुनेछ।

रेडियोले ‘म त रक्तदान गर्दैछु, तपाईं नि ?’ भन्ने आकर्षक नारा लिएर पोखराभरिकै स्कुल, कलेज र समुदायमा व्यापक क्याम्पेनिङ थालेको छ। यसक्रममा पोखरा-३ नदीपुरका प्रतिभा मावि र ग्यालेक्सी माविमा कक्षा १२ का विद्यार्थीलाई रक्तदानका आवश्यकता, फाइदा र वैज्ञानिक पक्षबारे सचेतना प्रदान गरिएको छ।

एभरेस्ट मिडिया हाउसका प्रमुख-सम्पादक दीपेन्द्र श्रेष्ठका अनुसार १७ देखि ६५ वर्ष उमेर समूहका, तौल ४५ केजीभन्दा माथिका, तीन महिना अर्थात् ९० दिनअघि रक्तदान गरिसकेका तथा बीपी नर्मल भएकाले सहजै रक्तदान गर्न सक्छन्।

महिलामा मासिक धर्मको छैटौँ दिनपछि रक्तदान गर्न मिल्ने, क्यान्सर वा किड्नी ट्रान्सप्लान्ट नभएको, ठूला शल्यक्रिया नगरेको व्यक्ति योग्य हुने जानकारी उनले दिए।

श्रेष्ठका अनुसार, मानिसको शरीरमा पुराना रगतका कोषिका मर्नु र नयाँ बन्ने प्रक्रिया निरन्तर चलिरहन्छ। यही खेर जाने रगतले एक जना दाताले तीन जनासम्मको ज्यान बचाउन सक्छन्। रक्तदान आत्मसन्तुष्टि र स्वस्थ शरीरको प्रमाण पनि भएको उनले बताए।

रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग

कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराले प्राविधिक व्यवस्था सम्हाल्नेछ। एभरेस्ट एफएमले सामाजिक उत्तरदायित्वअन्तर्गत विगतका वर्षझैं यस वर्ष पनि ‘नियमित रक्तदान गरौँ, जीवन बचाउने अभियानमा सहभागी बनौँ’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम अघि बढाएको हो।

रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न संस्थाहरूले सहकार्य गरेका छन्। तीमध्ये हिमालयन एभरेस्ट इन्स्योरेन्स न्यूरोड, सन्तान आईभीएफ क्लिनिक महेन्द्रपुल, सिटिजन फर्निचर न्यूरोड, आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल रानीपौवा, तारा सुमन सप्लायर्स प्रस्याङ, एस एण्ड बी ट्रेडर्स न्यूरोड, इम्पावर हेल्थकेयर सिमलचौर, नेलम्बो नेपाल गैह्रापाटन, पुन ग्रुप अफ पोल्ट्री, पिवरो मल्टिसोलुसन पोखरा, पञ्चरत्न आभूषण प्रा।लि। तेस्रापट्टि लगायत रहेका छन्।

मार्केटिङ डाइरेक्टर भोला कुमार श्रेष्ठका अनुसार, समुदायको सेवा नै हाम्रो प्राथमिकता हो, र यसपटकको रक्तदान कार्यक्रमलाई सरसफाइ, स्वास्थ्य सुरक्षा र व्यवस्थापनका सबै पक्ष मजबुत बनाइनेछ।

एभरेस्ट एफएम ९३ मेगाहर्जले एफएम तथा डिजिटल दुवै माध्यमबाट कार्यक्रमको निरन्तर प्रचार गर्दै सर्वसाधारणलाई सहभागिताका लागि आह्वान गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: