मुग्लिन-पोखरा पश्चिमखण्डमा ६ सयलाई रोजगारी, सडक स्तरोन्नति तीव्र गतिमा, १२ मध्ये ११ पुल तयार

Share:

पोखरा। मुग्लिन-पोखरा सडक आयोजनाको पश्चिम खण्डमा तीव्र गतिमा भइरहेको सडक स्तरोन्नतिले दैनिक ६ सयभन्दा बढी मजदुरलाई रोजगारी उपलब्ध गराइरहेको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मका ३८.८८ किलोमिटर सडक तथा पुल निर्माण, कालोपत्र, नाला र कल्भर्ट निर्माणमा दैनिक विशाल मानवशक्ति जुटिरहेको आयोजनाले जनाएको छ।

आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार पश्चिम खण्डमा दैनिक ६ सय मजदुर खटिँदा मासिक झण्डै १८ हजार जनाले रोजगारी पाइरहेका छन्। यससँगै २० जना प्राविधिक परामर्शदातासमेत स्थलमै कार्यरत छन्।

५९.७६% भौतिक, ४७.८०% वित्तीय प्रगति

कुँवरका अनुसार पश्चिम खण्डको समग्र भौतिक प्रगति ५९.७६ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको छ। ३७.४ किमी भागमा पहिलो तहको कालोपत्र सकिँदा २९.६१ किमी चार लेन र ७.७९ किमी दुलेन सडक तयार भइसकेको छ।

१२ मध्ये ११ पुल तयार, सेती पुल निर्माणाधीन

लक्ष्यअनुसार १२ मध्ये ११ पुल निर्माण सकिएको छ भने सेती नदीमा निर्माणाधीन पुलमा ४७.५२ प्रतिशत भौतिक र ४७.९ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ। पुलमा आवश्यक ४ पाइलक्याप र १२० पाइल निर्माणसमेत पूरा भइसकेका छन्।
गत आर्थिक वर्षमा २५ किमी चार लेन सडक कालोपत्र गर्ने लक्ष्य राखिँदा २३.०६ किमीकार्य सम्पन्न भएको छ। त्यस्तै ११ पुल निर्माण लक्ष्य पूरा भइसकेको छ।
६६ कल्भर्टमध्ये अब एक मात्र बाँकी रहेकामा, ५१.५ किमी नाला बनाउन लक्ष्य राखिँदा ४५.२ किमी नाला निर्माण सम्पन्न भइसकेको छ।

विसं २०७८ जेठ ३ गते सम्झौता भएर सुरु भएको पश्चिम खण्डको कार्यावधि आगामी पुस १६ गतेसम्म रहेको छ।
आयोजनाले द्रुत गतिमा निर्माण कार्य अगाडि बढाइरहेको बताउँदै तोकिएको म्यादभित्र अधिकतम प्रगति गर्ने लक्ष्य जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: