पोखराका १२ विद्यालयमा ‘इसीइसी’ कार्यक्रमको प्रभावः शैक्षिक सुधारमा उल्लेखनीय छलाङ

Share:

पोखरा । पोखरा महानगरपालिका-३३ भित्रका विद्यालयहरूमा ईसीडीदेखि आधारभूत तहसम्मको शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम उल्लेखनीय रूपमा प्रभावकारी देखिएको छ। इनोभेसन इन एजुकेसन (इसीइसी) को पहलमा १२ वटा विद्यालयमा सञ्चालनमा आएको यो परियोजनाले विद्यार्थी सिकाइ, शिक्षक क्षमताको वृद्धि र विद्यालय नेतृत्वको शक्तीकरणमा स्पष्ट परिवर्तन ल्याएको समीक्षाले देखाएको हो।

विद्यालयहरूमा गरिएको समीक्षा अनुसार परियोजनाले शिक्षक क्षमतावृद्धि, अभिभावक सचेतना र विद्यालय स्तरीय नेतृत्व विकासमा गरेको लगानीले समग्र शैक्षिक वातावरणमै रूपान्तरणको संकेत देखिएको छ। परियोजनाको मुख्य प्रभाव इसीइसीले परियोजनाअन्तर्गत शिक्षकहरूको विषयगत क्षमता अभिवृद्धि, अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम, विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ र प्रधानाध्यापकहरूका लागि नेतृत्व विकास तालिम, अन्तर्राष्ट्रिय बाल विकास सहजकर्ता प्रशिक्षण, नियमित अनुगमन, परामर्श र सहायता जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यस वर्ष विशेष गरी कक्षा ६ देखि ८ सम्मका शिक्षकका लागि गणित तथा विज्ञान विषयगत तालिम सम्पन्न गरिएको छ। साथै, नेपाली र अङ्ग्रेजी फोनेक्स, व्यवहार व्यवस्थापन, अभिभावक अभिमुखीकरण सेमिनार, र प्रारम्भिक कक्षामा कक्षाकोठा सहयोग कार्यक्रम निरन्तर चलाइएका छन्। सन् २००१ मा स्थापना भएको इसीइसीले देशभरका सरकारी तथा निजी विद्यालयसँग सहकार्य गर्दै शैक्षिक सुधारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको अनुसन्धान तथा विकास विभागका उपप्रमुख सिङ्गी थिकेपा ल्होमीले जानकारी दिए।

उनले नेतृत्व क्षमता, प्रभावकारी नेतृत्वका सिद्धान्त, टिम लिडरको भूमिका, जिम्मेवारी र अधिकारसम्बन्धी विषयहरूमा विस्तृत प्रस्तुति पनि गरे । कार्यक्रममा सहभागी महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले परियोजना सञ्चालन भएका विद्यालयहरूको शैक्षिक गुणस्तरमा स्पष्ट सुधार देखिएको बताए ।

यस्तै, महानगर शिक्षा समितिका पदाधिकारीहरूले परियोजना प्रारम्भिक चरणमै अत्यन्त प्रभावकारी देखिएको भन्दै निरन्तरताको आवश्यकता औंल्याए। कार्यक्रमका इन्चार्ज विजय तामाङले परियोजनाको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयस्तरमा भइरहेको परिवर्तन र आगामी योजनाबारे जानकारी गराए।

कमेन्ट गर्नुहोस्
Share: