२१ औं लेखनाथ महोत्सव आगामी पुस ३ गतेदेखि, ३ सय ३५ स्टल रहने, ९ करोडको कारोबार गर्ने लक्ष्य

Share:

पोखरा । लेखनाथ क्षेत्रको पहिचान, स्थानीय उत्पादनको प्रवर्द्धन तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको लेखनाथ महोत्सव यस वर्ष पनि भव्यरूपमा आयोजना हुने भएको छ। हरेक वर्ष झैँ यसपटक पनि लेखनाथ उद्योग वाणिज्य संघले पुस ३ गतेदेखि १४ गतेसम्म पोखरा–२७ को तालचोकमा २१औँ संस्करणको लेखनाथ महोत्सव आयोजना गर्ने घोषणा गरेको हो।

आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवका कार्यक्रम तथा तयारीबारे विस्तृत जानकारी दिइएको छ । संघकी अध्यक्ष तथा महोत्सव मूल संयोजक जानुका पराजुली अधिकारीका अनुसार २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएको कार्यक्रम २०६१ सालदेखि व्यवस्थित रूपमै वार्षिक महोत्सवका रूपमा निरन्तरता पाइरहेको छ। विविध जातजाति, भाषा र संस्कृतिका समुदायलाई एउटै थलोमा एकत्रित गराएर लेखनाथ क्षेत्रको पहिचान उजागर गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको उनले बताइन्।

उनका अनुसार महोत्सवले स्थानीय उत्पादित वस्तुको बजार विस्तार, कृषि सामग्री, महिला उद्यमीका उत्पादन तथा हस्तकलासहित विभिन्न सामग्रीको प्रदर्शनी र बिक्रीलाई प्राथमिकता दिनेछ। प्रचार-प्रसार संयोजक ध्रुवबाबु भट्टराईले आर्थिक चुनौतीका बाबजुद महोत्सवले व्यवसायी र सर्वसाधारणको मनोबल बृद्धि गर्न मद्दत गर्ने बताए। उनका अनुसार मेला-महोत्सवले बजारलाई चलायमान बनाउने, आपूर्ति व्यवस्थामा सहजता ल्याउने र स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष टेवा पुर्‍याउनेछ।

यो वर्ष महोत्सवमा झण्डै ३३५ स्टल रहनेछन्, जहाँ निम्न सामग्री तथा सेवाहरूको प्रदर्शन हुनेछ । हस्तकला, फेन्सी, कस्मेटिक, फर्निचर र इलेक्ट्रोनिक्स, खाद्य तथा दैनिक उपभोग्य वस्तु, कृषि-पशुपालनका उत्पादन (सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी), सूचना-प्रविधि, शिक्षा र स्वास्थ्यसम्बन्धी प्रदर्शनी

फूड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी, वित्तीय तथा सेवामूलक संस्थाहरूको सहभागिता, बुद्धको प्रतिमासहितको पर्यटन प्रवर्द्धन कार्यक्रम, बिजनेस टक-शो, मोटिभेसनल स्पिच, सांस्कृतिक झाँकी, रत्यौली गीत, विद्यार्थी प्रतियोगिता, टिकटक र कन्टेन्ट क्रिएसन प्रतियोगिता, पप कनसर्ट, लाइभ ब्याण्ड तथा राष्ट्रिय कलाकारहरूको लोकदोहोरी, हास्यव्यंग्य प्रस्तुतिलगायत बाल उद्यान तथा खाना महोत्सव हुनेछ ।

महोत्सवमा सर्वसाधारणलाई १०० रुपैयाँ तथा विद्यार्थीलाई ५०रुपैयाँ टिकट लाग्ने जनाइएको छ । बेलुकाको सुगम संगीत कन्सर्टमा २०० टिकट लाग्ने आयोजकले बताएको छ ।

करिब ९ करोडको कारोबार हुने अपेक्षा

महोत्सवमा २ लाख ५० हजारभन्दा बढी दर्शक सहभागी हुने अनुमान छ। झण्डै ९ करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुनेछ भन्ने अपेक्षा गरिएको छ। आय-व्यय अनुमानअनुसार महोत्सवबाट करिब ९५ लाख आम्दानी र ८५ लाख खर्च भई १० लाख रुपैयाँ बचत हुने बताइएको छ।
उक्त रकम स्थानीय उद्यमशिलता विकास, औद्योगिक क्षेत्र स्थापना पहल तथा सामाजिक उत्तरदायित्वमा उपयोग गरिने आयोजकले जनाएको छ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सीना पंगेनीले लेखनाथ क्षेत्र विकासमा उपेक्षा भएको बताउँदै राज्य तथा संस्थाहरूले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्।

महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले आर्थिक संकटका बीच स्थानीय उत्पादन र व्यवसायलाई प्रवर्द्धन गर्ने यस्तो कार्यक्रम अत्यन्तै उपयोगी हुने बताए। मुख्य प्रायोजक गृहलक्ष्मी ग्यासका महाप्रबन्धक भिमराज लामिछानेले महोत्सवसँग सहकार्य गर्न पाएको खुशी व्यक्त गर्दै ग्यास सुरक्षित प्रयोगबारे जानकारी दिए।

महोत्सव भव्य र व्यवस्थित बनाउन १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय सल्लाहकार समिति, ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति, र करीब ३०० सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: