
पोखरा । आगामी माघ ३ गते आयोजना हुने मिस तामाङ पोखरा-२०२६ को तयारी पोखरामा औपचारिक रूपमा सुरू गरिएको छ। तयारीअन्तर्गत पोखरा महानगरभित्रका विभिन्न तामाङ घेदुङ इकाइहरूबीच भएको विशेष छलफल कार्यक्रममा प्रतियोगिताको उद्देश्य, महत्त्व र रूपरेखा बारे विस्तृत बहस गरिएको आयोजक बैदाम तामाङ सेवा समाजले जनाएको छ।
बैठकको अध्यक्षता गरेका बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले यस प्रतियोगिताले तामाङ समुदायका युवा महिलालाई प्रतिभा, पहिचान र आत्मविश्वाससहित अघि बढ्न महत्वपूर्ण भूमिक खेल्दै आएको बताए। तामाङ घेदुङ गण्डकीका उपाध्यक्ष रामबहादुर ब्लोन (शिबु) ले “महिला शिक्षित भए परिवार, समाज र देश नै शिक्षित हुन्छ” भन्ने अवधारणालाई मिस तामाङ जस्ता प्रतिस्पर्धाले व्यवहारिकरूपमा स्थापित गर्दै आएको बताए।
त्यस्तै नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसीले नारी शिक्षाले समृद्ध समाज निर्माणमा ठूलो योगदान दिने उल्लेख गर्दै, मिस तामाङ पोखराले नारी नेतृत्व, क्षमता विकास र आत्मविश्वास अभिवृद्धिमा पु¥याउँदै आएको योगदानलाई प्रशंसा गरे। रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्लले कार्यक्रममा सहभागी तामाङ छोरी-चेलीलाई संस्कृति, भाषा र पहिचानसहित अघि बढ्न प्रेरित गर्ने यस कार्यक्रमलाई “समुदायकै सम्पत्ति” भन्दै यसको निरन्तरताको आवश्यकता जोड दिए।
वक्ताहरूका अनुसार मिस तामाङ पोखरा केवल सौन्दर्य प्रतियोगिता नभई सांस्कृतिक संरक्षण, नेतृत्व विकास र समुदायबीचको अन्तरपीढीगत सम्बन्ध मजबुत पार्ने प्रभावशाली मंच बनिसकेको छ। छलफलमा संयोजक रोशिला ब्लोन, तामाङ बौद्ध सेवा समितिका अध्यक्ष विष्णु तामाङ, तामाङ घेदुङ पोखराका कार्यबाहक अध्यक्ष अन्जना तामाङ, कोरियोग्राफर जिता लामा लगायतले कार्यक्रमको सांस्कृतिक महत्व र युवामा सकारात्मक प्रभावबारे आ–आफ्नो धारणा व्यक्त गरे।
आगामी माघ ३ गते पोखरामा हुने मिस तामाङ पोखरा-२०२६ मा छोरी-चेलीलाई सहभागी गराई उनीहरूको प्रतिभा, क्षमता र आत्मविश्वास उजागर गर्न अनुरोध गर्दै अध्यक्ष ज्याक तामाङले अभिभावक तथा समुदायलाई सहभागी बन्न आग्रह गरेका छन्। यो वर्षको मिस तामाङ पोखरा-२०२६ अझ भव्य, सांस्कृतिक र प्रेरणादायी हुने आयोजकको विश्वास रहेको छ।
