
पोखरा । पोखरामा होटल व्यवसायी तथा उनीहरूको परिवारका लागि अब स्वास्थ्य परीक्षण झनै सहज हुने भएको छ। होटल संघ पोखरा नेपाल र नेशनल रेफरेन्स ल्याब्रोटरी (एनआरएल) बीच प्रयोगशाला परीक्षणमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। आइतबार सम्पन्न उक्त सम्झौतामा संघका अध्यक्ष लक्ष्मण सुवेदी र एनआरएल पोखरा नयाँ सडककी मार्केटिङ प्रमुख समिता आचार्यले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार संघका सञ्चालक, साधारण सदस्य तथा उनीहरूको परिवारका लागि रगत र पिसाबसम्बन्धी विभिन्न परीक्षणमा ३५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। त्यस्तै, संघ अन्तर्गत रहेका होटलमा कार्यरत कर्मचारीका लागि २० प्रतिशत छुट दिने सहमति पनि भएको अध्यक्ष सुवेदीले जानकारी दिए।
होटल संघबाट सिफारिस लिएर आउने अन्य सेवाग्रहीहरूले समेत ५ देखि ७ प्रतिशतसम्म छुट पाउन सक्नेछन्। पोखरामा उपलब्ध नभई बाहिर पठाउनुपर्ने नमूनाको परीक्षणमा भने १५ प्रतिशत छुट दिने उल्लेख सम्झौतामा गरिएको छ।
१२ वर्षदेखि पोखरामा सेवा प्रदान गर्दै आएको एनआरएलले गुणस्तरीय प्रयोगशाला परीक्षणलाई आफ्नो प्रमुख पहिचान बनाउँदै आएको बताउँदै मार्केटिङ प्रमुख आचार्यले, “उच्च मापदण्डका सेवा अधिक पहुँचयोग्य बनाउन यो सहकार्य महत्वपूर्ण छ,” भनिन्।
यो सम्झौताबाट होटल व्यवसायीसँगै उनीहरूको परिवार र कर्मचारीले गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र किफायती रूपमा पाउनेछन्।
