
पोखरा । गण्डकी प्रदेश आगामी प्रतिनिधिसभा निर्वाचनतर्फ कुदिरहेको छ भने यसपटकको निर्वाचनमा जोडिने ६७ हजारभन्दा बढी नयाँ मतदाता प्रदेशको राजनीतिक समीकरण र मतदाताको मनोविज्ञानमा नयाँ मोडले प्रवेश गर्न सक्ने पूर्वानुमान बढ्दै गएको छ। निर्वाचन कार्यालयहरूले संकलन गरेको प्रारम्भिक विवरणअनुसार नवलपुरका केही तथ्यांक अपूर्ण रहे पनि प्रदेशभर झण्डै ६७ हजार ४ सय मतदाता वृद्धि भइसकेका छन्। रोचक कुरा, यसपटक सबैभन्दा बढी उत्साह युवापुस्तामै देखिएको अधिकारीहरू बताउँछन्।
निर्वाचन अधिकारीहरूका अनुसार कार्यालयमा गएर नाम दर्ता गर्नेमा पनि युवा नै बढी, अनलाइनमार्फत आवेदन दिनेमा त झनै युवाको सहभागिता उल्लेखनीय देखिएको छ। “अनलाइन सुविधाले युवालाई झनै सहज बनाएको छ,” एक अधिकारी भन्छन्, “यसपटकको मतदाता लहर राजनीतिक चेत र सहभागिताको नयाँ संकेत हो।”
सबैभन्दा धेरै मतदाता थपिएको कास्की
३ वटा निर्वाचन क्षेत्र रहेको कास्की यसपटक पनि प्रदेशकै ‘निर्वाचन केन्द्र’ जस्तै बनेको छ। जहाँ १७ हजार ८ सय ९४ मतदाता थपिका छन् । नियमित प्रक्रियाबाट ९ हजार ६ सय ९७ जनाले नामावली दर्ता गरेका छन् । राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट ८ हजार १ सय ९७ जना मतदाता थप भएका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । ७ सय ५ जनाले ठाउँसारी गर्न आवेदन दिएका छन् भने ३ सय ५२ जनाले विवरणमा भएको त्रुटि सच्याएका छन् ।
यससँगै कास्कीमा कुल मतदाता सङ्ख्या ३ लाख ११ हजार ७ सय ५६ पुगेको छ। कास्कीको मतदाता सान्दर्भिकता केवल संख्यामा मात्र होइन, प्रदेशको राजनीतिक नेतृत्वको केन्द्र मानिने र गठबन्धन विरोधी गठबन्धनहरूको ‘निर्णायक थलो’ रहँदै आएको कारणले पनि उल्लेख्य छ।
स्याङ्जादेखि नवलपुरसम्म
स्याङ्जामा ८ हजार २ सय २५, तनहुँमा ८ हजार ३ सय ६६, नवलपुरमा करिब ८ हजार, गोरखामा ७ हजार ७ सय ८५, बागलुङमा ५ हजार ३ सय ९३, लमजुङमा ४ हजार ५ सय ३१, पर्वतमा ४ हजार ६ सय १२, म्याग्दीमा २ हजार २ सय ३७, मुस्ताङमा २ सय ६६, मनाङमा १ सय ३५ नयाँ मतदाता थपिएका छन्।
जिल्ला-जिल्लामा मतदाता वृद्धि दर फरक देखिए पनि संरचना एउटै छ । युवा र पहिलोपटक मतदान गर्न थालेका नागरिकको उल्लेखनीय संख्या। जिल्ला निर्वाचन कार्यालयका अधिकारीहरू लगभग एउटै स्वरमा भन्छन्, “यसपालि युवा नै अगाडि छन्।” प्रतिनिधि सभाअन्तर्गत गण्डकी प्रदेशबाट १८ निर्वाचन क्षेत्रमा चुनाव हुने व्यवस्था छ ।
कास्कीमा सबैभन्दा धेरै ३ वटा निर्वाचन क्षेत्र छन् भने ५ जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र छ । बाँकी ५ जिल्लामा २ निर्वाचन क्षेत्र छन् । पर्वत, मनाङ, मुस्ताङ, म्याग्दी र लमजुङमा एकमात्रै तथा गोरखा, तनहुँ, नवलपुर, स्याङ्जा र बागलुङमा २ वटा दरले निर्वाचन क्षेत्र छन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धन गरेको नेपाली कांग्रेसले १८ मध्ये ९ सिट जित्दै प्रदेशमा सबैभन्दा ठूलो दलको रूपमा उपस्थिति जनाएको थियो।
नयाँ ६७ हजार मतदाता थपिँदा कुन दलले आफ्नो प्रभाव कायम राख्न सक्छ, कुन दलले युवालाई आकर्षित गर्न सक्छ । गण्डकी प्रदेशको आगामी चुनाव परिणाममा यसको ठूलो भूमिका रहने निश्चित छ।
