रञ्जित र बोपारा चम्किँदा चितवनको दोस्रो जित, विराटनगर ४८ रनले पराजित

Share:

काठमाडौं । रञ्जित कुमारको घातक बलिङप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध ४८ रनको जित निकालेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले १६.५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमात्र बनाउन सक्यो ।

विराटनगरलाई सस्तैमा समेट्न चितवनका रञ्जितले पाँच विकेट लिए । चार ओभर बलिङ गरेका उनले २१ रनमात्र खर्चिए । यस्तै, कमलसिंह ऐरीले दुई विकेट लिए । कुशल मल्ल, सैब जैब र साहेल तान्विरले समान एक विकेट लिए ।

मर्चेन्ट डे लिंगले सर्वाधिक ३९ रन बनाए । प्रतिश जिसीले ३० रन थपे । साम हेजलेटले २२ रन जोडे । विराटनगरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । त्यसअघि टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको थियो ।

चितवनका बोपाराले सर्वाधिक ६५ रन बनाए । बोपाराले ३८ बलमा तीन चौका र चार छक्का प्रहार गरे । एनपीएलको दोस्रो संस्करणमा बोपाराको यो लगातार तेस्रो अर्धशतक हो । बोपाराले यसअघि कर्णाली याक्स र लुम्बिनी लायन्सविरुद्ध अर्धशतक बनाएका थिए ।

बोपाराले ६६-३ को स्थितिबाट सैब जैबसँग ४९ रनको साझेदारी गर्दै चितवनको इनिङ सम्हालेका थिए । यस्तै, बोपाराले ११५-४ को स्थितिबाट पाँचौँ विकेटका निम्ति ५६ रनको साझेदारी गरेपछि चितवन चुनौतीपूर्ण योगपलसम्म पुगेको हो ।

जैबले ३२ रन बनाए । यस्तै, कप्तान कुशल मल्लले १४ बलमा एक चौका र एक छक्कासहित २० रन थपे । देव खनालले २२ बलमा तीन चौका र एक छक्कासहित २८ रन जोडे । डेविड मलानले नौ बलमा तीन चौका प्रहार गर्दै १७ रन बनाए ।

विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लिंगेले समान दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २४ रन खर्चिए । यस्तै, सुभव रन्जानेको नाममा एक विकेट रह्यो ।

प्रतियोगितामा विराटनगरको यो पहिलो हार हो । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले हराएको थियो । विराटनगर आज सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

यता, चितवनको भने यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: