
पोखरा । पोखरा-मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना अन्तर्गत पोखरा-२६ स्थित विजयपुर खोलामा निर्माणाधीन नयाँ पुलको काम तीव्र गतिमा अघि बढिरहेको छ । पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ र आगामी दुई महिनाभित्र ट्रयाफिक सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ ।
शनिबारदेखि पुलमा ‘गिर्डर लन्चिङ’ कार्यलाई गति दिइएको छ । अहिलेसम्म ४ वटा गिर्डर लन्चिङ सकिएको छ भने ११ वटा गिर्डर अझै राख्न बाँकी रहेको इन्जिनियर कुँवर बताउँछन् । गिर्डर लन्चिङको सहजताका लागि बिहीबारसम्म बिहान ६-८ बजे र दिउँसो १२-२ बजे सडक अस्थायी रूपमा बन्द गरिएको छ । गिर्डर राखिसकेपछि पुलको स्लाब, ढलान तथा अन्य फिनिसिङ काम सुरु हुनेछ ।
उक्त पुल पोखरा-मुग्लिन सडक ठेक्का अन्तर्गत परेपछि चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन यस खण्डको निर्माण कार्यमा जुटेको छ । यसै योजनामा सेती नदीमा पनि नयाँ पुल निर्माण भइरहेको छ, जसले पोखरा-९ र १० लाई जोड्नेछ । सेती नदी पुलको भौतिक प्रगति अहिले ५३ प्रतिशत पुगेको छ ।
विसं २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले जिम्मा लिएको केबल-स्टेड प्रविधिको पुल गत भदौमा तीन वर्षे ठेक्का अवधि सकिँदासमेत सुस्त गतिमा देखिएको थियो । हाल पुलका ४ वटा जगको निर्माण पूरा भइसकेको छ र ४ टावरको काम अन्तिम चरणमा पुगेको छ । प्रमुख कुँवरका अनुसार चाइना पुलको तल र माथि गरी ६ लेनको आकर्षक २ वटा ‘सिग्नेचर’ पुल बन्नेछन्, जसले पोखरा प्रवेश क्षेत्रलाई आधुनिक रूप दिनेछ ।
सडकको भौतिक प्रगति ६१ प्रतिशत, वित्तीय ५०
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बनेको यस सडकका पश्चिम खण्ड (पोखरा–जामुने) मा ११ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला-२, रुदीखोला, हलेदीखोला, कालीखोला र कोत्रेखोलाका पुल सञ्चालनमा आइसकेका छन् । अब विजयपुर खोला र सेती नदीका २ पुल मात्र निर्माण चरणमा रहेका छन् ।
पोखरा-मुग्लिन सडक विस्तारको पश्चिम खण्ड यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य लिइएको छ । हालसम्म ६१ प्रतिशत भौतिक प्रगति भएको छ भने, ५०प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ । आयोजना अनुसार जसमा ३८.८८ किमीको सडकमध्ये ३७.४ किमीमा एकतर्फी कालोपत्र २९.६१ किमीमा दुवैतर्फी (चार लेन) तथा ७.७९ किमीमा एकतर्फी (दुई लेन) कालोपत्र पूरा भएको छ ।
विजयपुर र सेती नदीका पुल सम्पन्न भएपछि पोखरा–मुग्लिन सडक आधुनिक, सुरक्षित र छिटो यात्रायोग्य बन्नेछ । सडक विस्तार प्रदेश–३ र गण्डकीबीचको आवागमनलाई थप सहज बनाउँदै व्यापार, पर्यटन र आपतकालीन सेवामा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
