चापापानी सिद्धार्थ सहकारीको २ दिने अध्ययन-अवलोकन भ्रमण सम्पन्न

Share:

पोखरा । पोखरा महानगरपालिका १२ पुरानोधारास्थित चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले कास्की र लम्जुङका विभिन्न सहकारी तथा पर्यटनस्थलहरूको दुईदिने अध्ययन-अवलोकन भ्रमण सम्पन्न गरेको छ। सहकारीका अध्यक्ष दिपक कार्कीका अनुसार अन्य सहकारीहरूले सञ्चालन गर्दै आएका नवीन गतिविधि, कार्यक्रम तथा सफल अभ्यासहरूको जानकारी लिएर आफ्नो संस्थामा आवश्यकताअनुसार लागू गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको हो।

अध्यक्ष कार्कीले नीति, विधि र प्रविधिलाई आत्मसात गर्दै दिगो संस्थागत विकास र सदस्य समृद्धिलाई लक्ष्य बनाएर अघि बढिरहेको सहकारीका लागि यस्ता भ्रमणहरूले सञ्चालक समिति र कर्मचारीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। अध्ययन टोलीलाई राईनासकोट नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर गुरुङले स्वागत गर्दै राईनासकोटको पुरानो इतिहास र यसको संरक्षणका महत्वबारे जानकारी गराए।

उनले सहकारी पद्धतिमा राईनासकोटका संस्थाहरूले हासिल गरेको अनुभवबाट सिक्न सकिने र एक–अर्काबीच सकारात्मक कार्य–अनुभव आदानप्रदानले दुवै जिल्लाका सहकारी आन्दोलनलाई मजबुत बनाउन मद्दत गर्ने बताउँदै चापापानी सिद्धार्थ सहकारीलाई धन्यवाद दिए।

२८ सदस्यीय टोलीको सहभागिता

उपाध्यक्ष श्यामप्रसाद साँखी, सचिव इन्दिरा कोइराला, व्यवस्थापक करुणा शाही लगायतले भ्रमणको उद्देश्य र आवश्यकता स्पष्ट पार्दै सहकारीका विभिन्न निकायका २८ सदस्यीय टोलीले अध्ययन-अवलोकन सम्पन्न गरेको शिक्षा संयोजक मनोहरि पौडेलले जानकारी दिए। यसै वर्ष सहकारीका शेयर सदस्यहरुलाई समेत अध्ययन भ्रमणमा सहभागी गराउने तयारी भइरहेको ऋण संयोजक गुप्त बहादुर कार्कीले बताए।

समृद्ध सदस्य र सक्षम संस्था सहकारीको प्राथमिकता

सहकारी अध्यक्ष दिपक कार्कीका अनुसार संस्था आफ्ना सदस्यहरूको आर्थिक समृद्धिलाई प्रमुख लक्ष्य बनाएर सामूहिक भावना, श्रम, सीप, श्रोत-साधन, पुँजी र प्रविधिको प्रभावकारी उपयोगमार्फत वित्तीय सहकारी अभियानलाई अझ सशक्त बनाउँदै अघि बढिरहेको छ। चापापानी सिद्धार्थ सहकारीले वित्तीय क्षेत्रमा जिल्लामै अग्रणी भूमिका निभाइरहेको र संस्थागत वृद्धि, गुणस्तर सुनिश्चितता तथा निरन्तर समृद्धिको मार्गचित्र सहित अघि बढिरहेको सहकारीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: