
पोखरा । पोखरा महानगरपालिका वडा नं.१९ चुरुङ्गामा परम्परागत कृषिपद्धतिलाई जोगाउने र भविष्य पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित तेस्रो संस्करणको दाँई महोत्सव उत्साहपूर्वक सम्पन्न गरिएको छ। धान झारेपछि गोरुको सहायतामा कुन्यू लगाइएको पराल माडेर बाँकी अन्न झार्ने पुरानो तर महत्वपूर्ण कृषिकर्म दाँईलाई संरक्षण तथा प्रवद्र्धन गर्न स्थानीय कृषक र पोखरा महानगरपालिकाको संयुक्त प्रयासमा महोत्सव आयोजना गरिएको हो।
उत्कृष्ट कृषकलाई सम्मान
महोत्सवको अवसरमा पोखरा महानगर क्षेत्रमा ५०० मुरी, १०० मुरी र ९८ मुरी धान उत्पादन गर्ने तीन उत्कृष्ट कृषकलाई नगरप्रमुख धनराज आचार्यले विशेष सम्मान प्रदान गरे। आचार्यले सम्मानले कृषकको मनोबल वृद्धि हुनुका साथै उत्पादन विस्तार, कृषिको व्यवसायीकरण तथा गोरु पालक कृषकलाई नयाँ प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
रैथाने धानको संरक्षण र ब्रान्डिङमा जोड
आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार, महानगरले पोखराको पहिचान बनेका जेठोबुढो लगायत रैथाने धानबीउको ब्रान्डिङ गर्न थालेको छ। साथै रैथाने जातका धान संरक्षणका लागि मल र बिउमा अनुदान प्रदान गर्दै कृषकलाई व्यवसायिक उत्पादनतर्फ उन्मुख गराउने कार्य निरन्तर भइरहेको उनले जानकारी दिए।
कृषकहरूको उत्साह, परम्परागत कृषि ज्ञानको संरक्षण र सामूहिक सहकार्यलाई जोड दिने उद्देश्यसहितको दाँई महोत्सवले गाउँ-समुदायमा कृषिको महत्व झनै चम्काएको स्थानीयले बताएका छन्।


