
पोखरा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते नै निर्वाचन अनिवार्यरूपमा हुनुपर्ने स्पष्ट चेतावनी दिएका छन्। पोखरामा आइतबार आयोजित गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभामा बोल्दै उनले सरकारले जनाधार भएका दलहरूसँग तुरुन्त संवाद र सहमति निर्माण गर्नुपर्नेमा जोड दिए।
‘ठूलाठूला दललाई पन्छाएर चुनाव सम्भव हुँदैन,’ उनले भने, ‘तोकिएकै मितिमा चुनाव गराउने जिम्मेवारी सरकारले अब ढिला गर्न मिल्दैन।’
प्रचण्डले देशको राष्ट्रिय स्वाधीनता, सुरक्षा तथा राजनीतिक स्थिरता जोखिममा रहेको दाबी गर्दै देशभक्त, वामपन्थी र समग्र कम्युनिस्ट शक्तिबीच एकता अबको आवश्यकता बनेको बताए। अघिल्लो सरकारले दुई तिहाइको दम्भले राष्ट्रलाई क्षति पुर्याएको आरोप समेत उनले लगाए।
भ्रष्टाचारविरुद्ध लड्न खोज्दा आफूलाई सरकारबाट हटाइएको आरोप गर्दै उनले भने, ‘हामीले भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताका लागि जति लड्नुपर्ने थियो, शक्ति पुगेन। तर आगामी चुनावमा प्रमुख शक्ति बनेर ती काम अधूरै राख्नेछैनौं।’
सत्र वटा घटकबीचको एकता केवल चुनाव जित्ने उद्देश्यका लागि नभई राष्ट्रको रक्षा, स्वाधीनताको संरक्षण र समृद्धिको आधार निर्माणका लागि भएको प्रचण्डको दाबी थियो।



