
पोखरा। पोखरा महानगरपालिका-२७ तालचोकमा अवस्थित डायमण्ड माध्यमिक विद्यालयले डायमण्ड रनिङ सिल्ड २०८२ को उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूमा सर्वाङ्गिण पक्षको विकास गराउँदै उनीहरूलाई नियमित रुपमा रचनात्मक र सिर्जनशील बनाइराख्न विद्यालयले २०७५ देखि नै हरेक वर्ष डायमण्ड रनिङ सिल्ड कार्यक्रम सञ्चालन गर्दै आएको कुरा विद्यालयका प्राचार्य यमबहादुर रोकाले बताए ।
पोखरा-२९ ,भण्डारढिकस्थित रङ्गशालामा सञ्चालित उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले डायमण्ड माविले विगतदेखि नै रत्नरुपी विद्यार्थी उत्पादन गर्दै आएकोमा प्रशंसा गरे ।
कास्कीका उत्कृष्ट विद्यालयमध्ये डायमण्ड मावि पनि अग्र स्थानमा रहेको उनले बताए । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङको संयोजकत्वमा सञ्चालित डायमण्ड रनिङ सिल्ड २०८२ मङ्सिर १५ गतेदेखि १९ गतेसम्म चल्नेछ।
प्रतियोगितामा फुटबल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन,भलिबल,टेबल टेनिस र एथलेटिक्स विधाका खेलहरु खेलाइने उनले बताए। प्रतियोगिताको सम्पूर्ण अवधिमा खेलाडीहरूको स्वास्थ्य सुरक्षा र आपतकालीन व्यवस्थापनका लागि नर्स सरिता परियारको मेडिकल टिम लगायत विद्यार्थी स्वयंसेवकहरु खटिएको छ।
पहिलो चरणका फुटबल खेलमा छात्राहरुको भेटेरांस समूहतर्फ ब्याच ८८ स्यान्की र ढुक्क एफ सी, छ देखि ८ कक्षाको समुहमा आठ बेगनास, आठ फेवा, नौदेखि १२ कक्षाको समुहमा टिम विस्ट, र १२ साइन्सको टिम विजयी भएका छन्।
त्यस्तै क्रिकेटतर्फ टिम सन्देश र भलिबल खेलमा १२ इनोभेसन टिम मंगोलियन विजयी भएका छन् भने ब्याडमिन्टन खेलमा छात्रहरुमा आदित्य खत्री, अभिजित खनाल, रुपेश खत्री। पुस्कल बराल, आयुष पौडेल, दर्शन तिवारी र छात्राहरुमा श्रेया श्रेष्ठ विजयी भएकी शिक्षक राजन परियारले जनाएका छन्।
विजयी खेलाडीहरु १९ गतेसम्म हुने डायमण्ड रनिङ सिल्ड २०८२को उपाधिको फाइनलमा विभिन्न खेलमा छनौट भएका छन्। विद्यालयका संस्थापक निर्देशक माधव शरण उपाध्यायको अध्यक्षतामा सञ्चालित उद्घाटन समारोहको सञ्चालन शिक्षक प्रदीप पोख्रेलले गरेका थिए ।
