पोखरामा १६ देशका ८० खेलाडी भिड्दा: पहिलो दिन नै कडा प्रतिस्पर्धा र नेपालीहरूको मिश्रित प्रदर्शन

Share:

पोखरा । पोखरा रंगशालामा आजबाट सुरु भएको आइटिएफ जे-३० वर्ल्ड टेनिस टुर पोखरा २०२५ ले पहिलो दिनदेखि नै रोमाञ्चक माहोल सिर्जना गरेको छ। अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) को मान्यता तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा मेन-ड्रका खेलसँगै नेपाली खेलाडीहरूले मिश्रित प्रदर्शन दिएका छन्।

ब्वाइज सिंगल्समा दर्शिल श्रेष्ठ ले भारतीय अयन दहियालाई ६-०, ६-१ ले हराउँदै दिनको उत्कृष्ट नतिजा निकाले। आयुष्मान हजुर घले ले दक्षिण कोरियाका ह्यो जिन हाविरुद्ध ६-३, ६-० ले जित्दै घरेलु दर्शकलाई खुसी पारे। त्यस्तै करण थापा ले चौथो वरीयता प्राप्त भारतका शौनाक चटर्जीलाई ६-१, ६-२ ले हराउँदै दिनको महत्वपूर्ण उल्टो नतिजा निकाल्न सफल भए।

प्रणव मानन्धरले चीनका जियालियाब गुओलाई ६-२, ७-५ ले हराउँदै अर्को चरणमा स्थान पक्का गरे। यद्यपि, शीर्ष वरीयताका विदेशी खेलाडीहरूसँग भिडेका अस्व सम्राट हाडा र शाश्वत बज्राचार्य भने सोझो सेटमा पराजित भए। ताइपेइका शीर्ष वरीयताका टिब–हो याब र कोरियाली तेस्रो वरीयताका युल हो जु ले नेपाली चुनौती सहजै पार गर्दै प्रभावशाली जित दर्ता गरे। अन्य विजेतामा श्रीलंका, भारत, चीन र सिंगापुरका खेलाडीले पनि उत्कृष्ट खेल प्रदर्शन गरे।

नेपालकी शाल्बी शेरचन र स्वस्तिका विष्ट पहिलो खेलमै प्रतियोगिताबाट बाहिरिए। शाल्बी भारतीय इशा शर्मालाई ६-२, ६-२ ले हराउन असफल भइन् भने स्वस्तिका तेजस्वी मानेनीसँग रोमाञ्चक टाइ-ब्रेकपछि ७-६९६०, ६-४ ले पराजित भइन्। गल्र्सतर्फ भारतका खेलाडीहरू इशा शर्मा, शताक्षिखा सहायाक, नोराह चौधरी, रञ्जना संग्राम र मेहा पाटिल-सबैले आफ्नो खेल जित्दै अर्को चरणमा प्रवेश गरे। ताइपेइकी के-चियाह हसु र चीनकी युनर ची पनि विजयी भए।

दिनको सबैभन्दा आकर्षक प्रतिस्पर्धा अमेरिकाकी नाला जोसेफिन मास्की र भारतकी आयेशा बगला बीच भयो, जहाँ मास्कीले ६-२, ६-७९७०, ६-२ ले कठिन जित निकालिन्।

१६ देशका ८० खेलाडीको सहभागिता

मंसिर १५ देखि २७ गतेसम्म निरन्तर चल्ने आइटिएफ जे-३० सर्किट १ र २ मा १६ देशका ८० खेलाडी (ब्वाइज ५५ र गल्र्स २५) प्रतिस्पर्धामा छन्। यसमा नेपाल, भारत, चीन, अमेरिका, ताइवान, कोरिया, अष्ट्रेलिया, सिङ्गापुर, श्रीलंका लगायतका देशका खेलाडीको सहभागिता रहेको छ। १३-१८ वर्ष उमेर समूहका खेलाडीले सिंगल्समा विजेताले ३० अंक, उपविजेताले १८ अंक तथा डबल्समा विजेताले २५ अंक, उपविजेताले १३ अंक प्राप्त गर्नेछन्। साथै सबै विजेता-उपविजेताले मेडल तथा प्रमाणपत्र पाउनेछन्।

१७ लाख ८७ हजार खर्च

प्रतियोगिता सञ्चालनमा करिब रू। १७ लाख ८७ हजार खर्च हुने अनुमान छ। यसमा प्रदेश खेलकुद परिषद, कास्की जिल्ला खेलकुद विकास समिति, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश लगायत संस्थाहरूको सहयोग रहेको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: