
पोखरा । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले कक्षा ८ का सम्पूर्ण विद्यालयलाई २०८२ सालको महानगरस्तरीय परीक्षामा सहभागी हुने विद्यार्थीहरूको दर्ता आगामी १५ पुसभित्र अनिवार्य रूपमा सम्पन्न गर्न आग्रह गरेको छ। शिक्षा महाशाखाले जारी गरेको पत्र अनुसार परीक्षा सञ्चालन तथा समन्वय समितिको मंगलबार गरेको निर्णय बमोजिम विद्यार्थी दर्ता इमिसमा रहेका विवरणको समष्टिगत प्रतिवेदन तथा जन्म दर्ताको प्रमाणित प्रतिलिपीसहित शिक्षा महाशाखामा पेश गर्नुपर्नेछ।
महानगरका अनुसार महानगरस्तरीय परीक्षालाई व्यवस्थित, पारदर्शी र तथ्य-आधारित बनाउन विद्यार्थी दर्ता अनिवार्य गरिएको हो। निर्धारित म्यादभित्र दर्ता नगर्ने विद्यालयले परीक्षामा अनावश्यक समस्या भोग्न सक्छन्। यसअघि नै तयारी थालिसकेको महानगरपालिकाले दर्ता प्रक्रिया समयमै सम्पन्न भएमा परीक्षा सञ्चालन अझ सुव्यवस्थित र प्रभावकारी हुने विश्वास लिएको छ।
कक्षा ८ मा अध्ययनरत सबै विद्यार्थीको विवरण अपडेट छ/छैन सुनिश्चित गर्न, जन्म दर्ताको प्रमाणित प्रतिलिपी संकलन गरी बाँधिने तथा १५ पुससम्म शिक्षा महाशाखामा दर्ता फाइल पेश गर्ने शिक्षा महाशाखाले विद्यालयहरूलाई समयमै जानकारी गराउँदै दर्ता कार्यलाई प्राथमिकताका साथ पूरा गर्न अनुरोध गरेको छ।

