
पोखरा । पोखरा-७ महेन्द्रपथमा रहेको निट डेन्टल केयर प्रालिले स्थापना गरेको ‘निट डेण्टल पत्रकारिता पुरस्कार’का लागि पाँच सदस्यीय प्रतिभा छनोट समिति गठन गरिएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशमार्फत सञ्चालन हुने उक्त पुरस्कारका लागि गठन गरिएको समितिको संयोजकमा फोनिजका संघीय सचिव एमबी आस्थामगर छन्।
समितिमा फोनिज गण्डकीका इन्चार्ज रुद्र तिसीमगर, अनुशासन समितिकी संयोजक मिना थापामगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सरोज थापामगर सदस्यका रूपमा चयन भएका छन्।
निट डेन्टलको तेस्रो वार्षिकोत्सवको अवसर पारेर यो पुरस्कार घोषणा गरिएको हो। पुरस्कार सञ्चालनका लागि ५ लाख रुपैयाँको अक्षयकोष समेत स्थापना भएको निट डेन्टलले जानकारी दिएको छ।
फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङका अनुसार पत्रकारितामार्फत समाज परिवर्तनमा सकारात्मक योगदान पुर्याउने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो।
उनका अनुसार यो पुरस्कार फोनिज सदस्यहरूमै सीमित नभई देशभरका जुनसुकै जिल्लामा क्रियाशील पत्रकारले पनि प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था छ।
वार्षिकोत्सवकै दिन हरेक वर्ष मंसिर २६ गते एक जना पत्रकारलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिने छ।
