
काठमाडौं । डि आर्सी सर्टको उत्कृष्ट प्रदर्शनको मद्दतमा लुम्बिनी लायन्सले जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा महत्त्वपूर्ण जित हात पारेको छ। बुधबार साँझ सम्पन्न खेलमा बलियो मानिएको विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै लुम्बिनीले ‘प्लेअफ’ को सम्भावनालाई बलियो बनाएको हो।
यो जितसँगै लुम्बिनी लायन्सको ६ अंक पुगेको छ भने एनपीएलको अंक तालिकामा अन्तिम चारको दौड थप रोमाञ्चक मोडमा पुगेको छ।सुरुवाती खेलहरूमा संघर्ष गरेको लुम्बिनीले विराटनगरविरुद्धको जितले नयाँ आशा जगाएको छ। अब लुम्बिनीलाई प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न शुक्रबार हुने खेल निर्णायक बन्नेछ।
शुक्रबार लुम्बिनीले बलियो प्रतिस्पर्धी जनकपुर बोल्टसको सामना गर्नेछ। उक्त खेलमा जित हात पार्न सके लुम्बिनीले अन्तिम चारमा आफ्नो स्थान पक्का गर्नेछ। लगातारको जितले उच्च मनोबलमा रहेको विराटनगर किंग्सको प्लेअफ यात्रा भने यो हारसँगै केही लम्बिएको छ। अहिलेसम्म ६ खेल खेलेको विराटनगरले ४ जित र २ हारसहित ८ अंक जोडेको छ। अंक तालिकामा राम्रो स्थितिमा रहे पनि प्लेअफमा स्थान पक्का गर्न विराटनगरले अब आफ्नो अन्तिम खेल कुर्नुपर्ने भएको छ।
विराटनगरले शनिबार हुने खेलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। प्लेअफमा स्थान सुरक्षित गर्न विराटनगरलाई उक्त खेल जित्नैपर्ने दबाब छ। लिग चरणका खेलहरू अन्तिम चरणमा पुग्दा एनपीएलको समीकरण पेचिलो बन्दै गएको छ। शुक्रबार लुम्बिनी र जनकपुर तथा शनिबार विराटनगर र सुदूरपश्चिमबीचको खेलले प्लेअफ पुग्ने टोलीहरूको टुंगो लगाउनेछ।
