मदिरा व्यवसायी समिति कास्कीको खुला रक्तदान, ५० युनिट रगत संकलन

Share:

पोखरा । मदिरा व्यवसायी समिति कास्कीले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ। समितिमा आवद्ध व्यवसायी, शुभचिन्तक तथा नियमित रक्तदाताको सक्रिय सहभागिताले कार्यक्रम अत्यन्तै सफल बनेको संयोजक सुदर्शन श्रेष्ठले जानकारी दिए।

पोखरा-८ सिमलचौरस्थित सचिवालयमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीकी अध्यक्ष उर्मिला खड्का भण्डारीले समितिका अध्यक्ष कृष्ण रानाभाटलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरेकी थिइन्।

अध्यक्ष भण्डारीले रक्त अभाव पूर्ति गर्न रेडक्रसले एक्लै धान्न नसक्ने भएकाले सामाजिक संस्थाको योगदान अपरिहार्य रहेको बताइन्।

मदिरा व्यवसायी समिति कास्कीका अध्यक्ष रानाभाटले सामाजिक उत्तरदायित्वअन्तर्गत समिति निरन्तर सामुदायिक सेवामा सक्रिय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम निरन्तर रूपमा जारी रहने बताए।

मदिरा व्यवसायी महासंघका सल्लाहकार तथा समितिका पूर्वअध्यक्ष तारानाथ ढुङ्गानाले व्यवसायसँगै सामाजिक कार्यमा समितिको सक्रिय उपस्थिति प्रशंसनीय रहेको टिप्पणी गरे।

कार्यक्रममा समितिका पूर्वअध्यक्ष तथा सल्लाहकार डिल्लीराम पनेरु, समितिका वरिष्ठ उपाध्यक्ष नेत्र ढुङ्गाना, महासचिव श्रीराम पोखरेललगायतले रक्तदानको महत्त्वबारे प्रकाश पारे। कार्यक्रम ढुङ्गानाको स्वागत मन्तव्य र पोखरेलको सञ्चालनमा सम्पन्न भयो।

कमेन्ट गर्नुहोस्
Share: