
पोखरा । गण्डकी प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई स्थानीय तहमा कार्यरत कर्मचारीहरूका लागि आयोजित सेवा प्रवेश तालिम सफलतापूर्वक सम्पन्न भएको छ। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मंसिर १४ गतेदेखि सञ्चालन भएको पाँचदिने तालिमको समापन कार्यक्रम राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालयको सभाहलमा सम्पन्न भएको हो।
समापन समारोह प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबू तिवारीको अध्यक्षता र गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डन्डूराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले प्रदेश निजामती सेवा देशकै मान र प्रतिष्ठासँग जोडिएको उल्लेख गर्दै, सेवा प्रवाहमा कुशलता, पारदर्शिता र जनअपेक्षाको प्रतिविम्ब ल्याउन यस्तो तालिम महत्वपूर्ण रहेको बताए।
उनका अनुसार स्थानीय तहमा नागरिकले गर्ने अपेक्षा पूरा गर्न दक्ष र व्यवहारिक ज्ञानयुक्त कर्मचारी अपरिहार्य छन्, र यो तालिम त्यसका लागि सहायक बन्ने छ।
७२ जना प्रशासनतर्फका नवप्रवेशी कर्मचारी सहभागी
कुल ७२ जना सहायक स्तर ९चौथो र पाँचौँ तह० का प्रशासनतर्फका नवप्रवेशी कर्मचारी तालिममा सहभागी थिए। तालिम सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाको हल तथा राष्ट्रिय परीक्षा बोर्डको हलमा सञ्चालन गरिएको थियो।
कार्यक्रममा प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले स्वागत मन्तव्य र तालिमको समीक्षा प्रस्तुत गरे। राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालयका प्रमुख भाष्कराज पन्त उपस्थित थिए भने सहभागी प्रतिनिधिको तर्फबाट प्रतिक्षा डुम्रे पराजुली र कुबेर जंग मल्लले आफ्ना अनुभव बाँडे।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले गरेका थिए।
तालिममा स्थानीय तहमा दैनिक कार्य सहज बनाउन मद्दत गर्ने व्यावहारिक कक्षाहरू सञ्चालन गरियो। सहजीकरण गरिएका मुख्य विषयवस्तुमा स्थानीय तहको काम, कर्तव्य र अधिकार, खरीद प्रक्रिया, बजेट निर्माण तथा व्यवस्थापन, विकास योजना तथा भवन निर्माण मापदण्ड, योजना अनुगमन र मूल्यांकन, जिन्सी तथा अभिलेख व्यवस्थापन तथा प्रविधिमैत्री प्रशासनिक अभ्यास समेत समेटिएको निर्देशक तिमिल्सिनाले बताए।
प्रशासनतर्फका कर्मचारीले प्राविधिक सीप पनि आवश्यक पर्ने भएकाले तालिमलाई अभ्यासमुखी तथा प्रविधिमूलक बनाइएको तालिम संयोजक इ. मनोज पौडेलले जानकारी दिए। प्रतिष्ठानले मंसिर २१ गतेदेखि प्राविधिक चौथो र पाँचौँ तहका कर्मचारीका लागि सेवा प्रवेश तालिम सञ्चालन गर्ने तयारी पूरा गरेको पनि प्रशिक्षण तथा अनुसन्धान अधिकृत इ। पौडेलले जानकारी गराए।
