
पोखरा । नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीको आयोजनामा जारी ‘दोस्रो वृहत बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता-२०८२’ अन्तर्गतको क्रिकेट प्रतियोगितामा आइतबार ५ वटा खेल सम्पन्न भएका छन्। पोखरा रङ्गशालामा जारी प्रतियोगितामा लाविन रेसिडेन्सियल, बागमारा एकेडेमिक, नेसनल क्रियसन, कास्की मोडर्नाइज्ड र ज्ञानज्योति विद्याकुञ्जले आ-आफ्नो खेलमा जित निकालेका छन्।
आइतबारको पहिलो खेलमा लाविन रेसिडेन्सियल स्कुलले अक्सफोर्ड स्कुललाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्यो। टस जितेर ब्याटिङ रोजेको लाविनले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रनको योगफल तयार पारेको थियो। जवाफमा अक्सफोर्ड १० ओभरमा ४० रनमै समेटियो।
यस्तै दोस्रो खेलमा बागमारा एकेडेमिक गार्डेनले न्यू लेखनाथ पब्लिक एकेडेमीलाई २२ रनले हरायो। ८ ओभरको खेलमा न्यू लेखनाथले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बागमाराले ५९ रन बनायो। जवाफी ब्याटिङमा न्यू लेखनाथले ३७ रन मात्र बनाउन सक्यो।
तेस्रो खेलमा नेसनल क्रियसन एकेडेमीले फेवा बोर्डिङ स्कुलमाथि जित निकाल्यो। फेवा बोर्डिङले दिएको २० रनको झिनो लक्ष्य नेसनल क्रियसनले ३।४ ओभरमै पुरा गर्यो। यसअघि फेवा ७।५ ओभरमा अलआउट भएको थियो।
चौथो खेलमा कास्की मोडर्नाइज्ड एकेडेमीले सिद्धार्थ लबडेल बोर्डिङ स्कुललाई ५२ रनले पराजित गर्यो। कास्कीले दिएको ८३ रनको लक्ष्य पछ्याएको सिद्धार्थ लबडेल ८ ओभरमा ३० रनमै अलआउट भयो।
अन्तिम खेलमा ज्ञानज्योति विद्याकुञ्ज मा।वि।ले चिल्ड्रेन्स एकेडेमीलाई १० विकेटले पराजित गर्दै शानदार जित हात पार्यो। चिल्ड्रेन्स एकेडेमीले दिएको १७ रनको लक्ष्य ज्ञानज्योतिले १।४ ओभरमै बिना कुनै विकेटको क्षति पुरा गर्यो। यसअघि चिल्ड्रेन्स ६।३ ओभरमा १६ रनमै समेटिएको थियो।
यस्तो सोमबारको खेल तालिका
प्रतियोगिता संयोजक ज्ञानेन्द्र बहादुर थापाका अनुसार सोमबारको पहिलो खेल बिहान ८ बजे हेम्जा बोर्डिङ स्कुल र त्रिवेणी पब्लिक माविबीच हुनेछ। एन प्याब्सन कास्कीले यस वर्ष ‘दोस्रो वृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता’ भव्य रूपमा आयोजना गरेको छ। खेलकुदका कार्यक्रमहरू मंसिर २० देखि २३ गतेसम्म पोखरा रङ्गशालामा र प्रतिभा पहिचानका कार्यक्रमहरू मंसिर २४ देखि २६ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछन्।
महोत्सवको औपचारिक उद्घाटन मंसिर २४ गते हुने तय भएको छ। एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीका अनुसार प्रतियोगितामा संस्थामा आबद्ध ४३ विद्यालयका करिब १,५०० विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन्।
महोत्सवमा क्रिकेट बाहेक सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि प्रदर्शनी, र हस्तकला (पात, पराल र चोयाबाट निर्मित सामग्री) जस्ता प्रतियोगिताहरू समावेश गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए।
कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि अंग्रेजी वक्तृत्वकला र कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अन्य विविध प्रतियोगिताहरू राखिएको सचिव प्रेमराज अधिकारीले बताए।
अभिभावक तथा सर्वसाधारणले समेत अवलोकन गर्न सक्ने यो महोत्सवमा उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।
