
पोखरा। पर्यटकीय नगरी पोखरामा शनिबार सम्पन्न छैटौँ संस्करणको प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता ‘फिसटेल रेस-२०२५’ को उपाधि पुरुषतर्फ नेपालका सुमन कुलुङ र महिलातर्फ अमेरिकी धावकले जितेका छन्। ‘हिमाल मुनी तालको छेउमा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस प्रतियोगितामा २७ देशका धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगिताको मुख्य आकर्षण मानिएको ४२ किलोमिटर म्याराथन (पुरुष) तर्फ नेपाली धावक सुमन कुलुङले बर्चस्व जमाए। उनले निर्धारित दुरी ३ घण्टा ४७ मिनेट १८ सेकेण्डमा पार गर्दै उपाधि हात पारे।
सोही स्पर्धामा नेपालकै मिलन कुलुङ द्वितीय र लोकेन्द्र राई तृतीय भए भने विजय रानामगर (नेपाल) र फिन नर्वुड (बेलायत) सान्त्वना भए। महिलातर्फको ४२ किलोमिटर दौडमा भने विदेशी धावकको दबदबा रह्यो।
अमेरिकी नागरिक सोन्या मार्टिनले ५ घण्टा २८ मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै विजेता बनिन्। नेपालकी अनिता राईले द्वितीय स्थान हासिल गर्दा नर्वेकी सोफी मेरी स्टेनजेर तृतीय भइन्। बेलायतका स्याली मोल्ड्स र समान्था बेकर सान्त्वना भए।
२१ किलोमिटर हाफ म्याराथनको पुरुषतर्फको उपाधि नेपालका विशाल राईले जिते। उनले २ घण्टा ११ मिनेट १० सेकेण्डमा दौड पूरा गरे। यस विधामा नेपालका ऋतुराग रोकाय द्वितीय र अष्ट्रेलियाका ओलिभर रैली तृतीय भए।
महिलातर्फ अष्ट्रेलियाकी लरेन बर्नहम २ घण्टा ४३ मिनेट ३७ सेकेण्डको समयसहित प्रथम भइन्। न्युजिल्याण्डकी फ्लोरेन्स रेनोल्ड्स द्वितीय र नेपालकी नितु तामाङ तृतीय भइन्। ५ किलोमिटर पुरुष दौडमा नेपाली धावकहरूले क्लिन स्विप गरे। नेपालका विष्णु लिम्बु ३२ मिनेट ४३ सेकेण्डसहित प्रथम हुँदा अनुप गुरुङ द्वितीय र श्रीजना मोक्तान तामाङ तृतीय भए।
महिलातर्फ भने जर्मनीकी धावक ग्रेता होफम्यान ४७ मिनेट ४६ सेकेण्डसहित प्रथम भइन्। ग्रीसकी भासो थियाकोडिभित्री द्वितीय र ब्राजिलकी आना रामोस तृतीय भइन्। पोखरा-१७ डेभिजफलबाट सुरु भएको दौड विश्व शान्ति स्तुपा, पुम्दीभुम्दी, ठुलाखेत, कास्कीकोट, मेथलाङ हुँदै खहरेमा पुगेर समापन भएको थियो।
फिसटेल रेसका परिकल्पनाकार एवं सन् २०१७ को कठिन ‘ग्रेट हिमाल रेस’ विजेता जगन तिमिल्सिनाले पोखरालाई साहसिक खेलकुदको गन्तव्यको रूपमा विश्वसामु चिनाउन प्रतियोगिता आयोजना गरिएको बताए। उनले भने, “पोखरामा रहेका विश्वकै उत्कृष्ट ट्रेलहरूको अनुभव बाँड्न र यहाँको पर्यटन प्रवर्द्धन गर्न यो रेस कोसेढुङ्गा सावित हुनेछ।”



