
पोखरा । पोखरा नयाँबजारमा मंसिर १७ गतेदेखि सञ्चालनमा आएको ‘नेपाल मणिपाल अस्पताल ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक २०८२’ पाँच दिने आकर्षक प्रदर्शनी सम्पन्न भएको छ। मेलाको समापन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे। समापन समारोहमा मेयर आचार्यले पोखरा महानगर रोजगारी सिर्जनाका लागि निरन्तर प्रतिबद्ध रहेको बताउँदै, महानगरले व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत् उद्यमशील मानिसलाई तालिम र परामर्श सेवा दिइरहेको जानकारी दिए।
“रोजगारी र भौतिक विकासका लागि महानगर निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्छ,” मेयर आचार्यले भने। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पछिल्लो समय उद्यमी र व्यवसायीमाथि देखिएको चापप्रति चिन्ता व्यक्त गरे ।
“राज्यले उद्यमशील व्यक्तिलाई संरक्षण र सहयोग गर्नैपर्छ । बैंक ऋण लिएर व्यवसाय गर्ने व्यक्तिलाई अपराधीझैँ ठहर गर्ने प्रवृत्ति रोक्नुपर्नेछ । भदौ २४ को घटनाले उद्योगी-व्यवसायीमाथि भय सिर्जना गरेको छ। यस्तो पुनः नहोस्,” उनले भने ।
पोखरा महानगरका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले देशले समृद्धि हासिल गर्न उत्पादन बढाउनुपर्नेमा जोड दिए। मेलाका मुख्य प्रायोजक मणिपाल शिक्षण अस्पतालका कार्यकारी निर्देशक अनिल ओडोविलले मणिपालले स्तरीय स्वास्थ्य सेवा मार्फत पोखरालाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउने लक्ष्य राखेको बताए।
नेपाल पत्रकार महासंघ गण्डकीकी अध्यक्ष जस्मिना वर्षा शर्माले मेला तथा महोत्सवले स्थानीय उत्पादन प्रवद्र्धन, रोजगारी र अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो भूमिका खेलेको बताइन्।
उत्कृष्ट सहभागी सम्मानित
समापन समारोहमा उत्कृष्ट स्टलको रूपमा Cosmic Computer Center, उत्कृष्ट झाँकी तथा सांस्कृतिक प्रस्तुतीकरणका लागि नेपाल मगर संघ कास्की र हेम्जाको देवीस्थान भजन संगीतमण्डलीलाई सम्मान गरिएको थियो।
मेलामा औद्योगिक, कृषिजन्य, हस्तकला, शिक्षा, स्वास्थ्य, पर्यटन तथा सूचना–प्रविधिसम्बन्धी उत्पादन र सेवा प्रदर्शनी गरिएका थिए। कार्यक्रम स्थानीय उत्पादनको प्रवद्र्धन, बजारीकरण र गण्डकी प्रदेशको व्यवसायिक सम्भावनाको पहिचानमा केन्द्रित थियो।
प्रचार-प्रसार संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका सदस्य मनोहरि पौडेलका अनुसार मेलाअन्तर्गत उद्यमशीलता प्रवद्र्धन, लगानी मैत्री नीतिनिर्माण, नवप्रवर्तन, कृषि र सूचना-प्रविधिसम्बन्धी विविध परिसंवाद पनि सञ्चालन गरिएको थियो।
