
पोखरा । पोखरा महानगरपालिका-१७ स्थित नमुना टोल सुधार समितिको २०औँ वार्षिक साधारण सभामा वक्ताहरूले भूमिहीन सुकुम्बासीलाई तत्काल जग्गाको मालिक बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्। शनिबार आयोजित कार्यक्रममा सरोकारवालाहरूले दशकौँदेखि बसोबास गर्दै आएका स्थानीयलाई जग्गाको स्वामित्व प्रदान गर्न तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्ने सामूहिक धारणा राखे।
साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य भीम कार्कीले मुलुकमा पुस्तौँदेखि जग्गाविहीन रहेका परिवार अझै पनि कानुनी रूपमा असुरक्षित रहेको बताए। उनले उनीहरूको जीवनस्तर उकास्न स्वामित्व अधिकार (लालपूर्जा) अनिवार्य रहेको औँल्याए।
सांसद कार्कीले भने, ‘मुलुकमा अस्थिर सरकारको कारण भूमिहीनलाई लालपूर्जा वितरण र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने अभियानले सार्थकता पाउन सकेको छैन। मुलुकको समग्र समस्या समाधान गर्न अब एकल बहुमतको सरकारको खाँचो छ।’
पोखरा-१७ की वडाध्यक्ष राधिका शाही योगीले वडाले भूमिहीन सुकुम्बासी बस्तीमा आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै आएको बताइन्। तर, जग्गाधनी बनाउन भने तीनै तहका सरकारको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
‘दीर्घकालीन बसोबासका आधारमा जग्गा प्रदान गर्दा सामाजिक सुरक्षादेखि आधारभूत सेवा सुविधासम्म पहुँच सुनिश्चित हुन्छ,’ उनले भनिन्, ‘दिगो समस्या समाधानका लागि स्थानीय र संघीय सरकारले सहकार्य गर्नुको विकल्प छैन।’
६२ परिवारको दुई दशकदेखिको पीडा
टोलका सल्लाहकार दानबहादुर शाहीले रानीवनको छेउमा रहेको १३ रोपनी सार्वजनिक जग्गामा विगत दुई दशकदेखि ६२ घरपरिवार बसोबास गर्दै आएको जानकारी दिए। उनले भने, ‘यहाँ खानेपानी, विद्युत् र सडकको राम्रो सुविधा छ, तर जग्गाको लालपूर्जा नहुँदा स्थानीय बासिन्दा सधैं सशंकित हुनुपरेको छ।’
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य रुद्र खत्रीले भूमिहीन सुकुम्बासीहरू अधिकांश श्रमिक वर्गका रहेको उल्लेख गर्दै उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्नेमा जोड दिए।
त्यस्तै, एमाले कास्की जिल्ला सदस्य सुभाष ढुंगानाले वर्तमान सरकारले भूमि आयोग खारेज गरे पनि अदालतले पुनःस्थापना गरेको बताउँदै अब भूमिहीनलाई लालपूर्जा वितरणमा ढिलाइ गर्न नहुने बताए।
नमुना टोल सुधार समितिका अध्यक्ष पुण्यप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी हरिप्रसाद बास्तोला, एमाले वडा अध्यक्ष एवं जनप्रतिनिधि विक्रम गुरुङ लगायतले आ-आफ्नो धारणा राखेका थिए। समितिका उपाध्यक्ष लोकबहादुर सेन ठकुरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव भेलबहादुर गुरुङले गरेका थिए।
