धार्मिक-सामाजिक अभियन्ता पार्वती लामिछानेको ८६ वर्षमा निधन

Share:

पोखरा । पोखरा महानगरपालिका-१९ घार्मी गायत्री टोलकी धार्मिक तथा सामाजिक अभियन्ता पार्वती लामिछानेको आइतबार बिहान ८६ वर्षको उमेरमा निधन भएको छ। पारिवारिक स्रोतका अनुसार स्वास्थ्य सामान्य रहे पनि हृदयघातका कारण उनको निधन भएको हो।

लामिछानेको पार्थिव शरीरको आजै पोखरास्थित सती नर्वदा गोस्ते शिवालय घाटमा अन्त्येष्टि गरिएको छ। अन्तिम संस्कारमा उनका छोरा लेखनाथ लामिछानेले दागबत्ती दिए।

घार्मी तथा आसपासका बस्तीमा लामिछाने धार्मिक कार्य, महिला परिचालन तथा सामाजिक सहयोगका लागि परिचित थिइन्। उनी घार्मीस्थित गायत्री मन्दिरको संरक्षण र व्यवस्थापनमा निरन्तर सक्रिय रहिआएकी थिइन्।

स्वर्गीय लामिछानेप्रति सम्मान प्रकट गर्दै निवासबाट निकालेको शवयात्रामा सहभागीहरूले पुष्पगुच्छा अर्पण गर्दै उनका योगदानको स्मरण गरेका थिए।

स्वर्गीय लामिछानेका एक छोरा लेखनाथ लामिछाने र छोरी देवी पौडेल छन्। छोरा लेखनाथ पूर्व विद्यालय निरीक्षक तथा लामाचौर स्रोत केन्द्रका स्रोत व्यक्ति भई लामो समय शिक्षा क्षेत्रमा सेवा गरेका थिए। हाल उनी गोस्तेघाट निर्माण समितिमा सक्रिय छन्।

लामिछानेको अन्त्येष्टिसँगै स्थानीय प्रयासमा निर्माण भइरहेको नवनिर्मित गोस्तेघाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। घाटलाई आधुनिक र व्यवस्थित बनाउने लक्ष्य राखिएको भए पनि रकम अभावका कारण निर्माण पूर्ण नहुन पुगेको समितिले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: