एन प्याब्सन कास्की क्रिकेट: सेमिफाइनल समीकरण पूरा, त्रिवेणी र नेसनल क्रियसनसहित ४ विद्यालय अन्तिम चारमा

Share:

पोखरा । नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीको आयोजनामा जारी अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न रोमाञ्चक क्वाटरफाइनल खेलहरूपछि अन्तिम चारमा पुग्ने विद्यालयहरूको टुंगो लागेको हो ।
कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू सहभागी यस प्रतियोगिताको सेमिफाइनलमा कास्की मोडर्नाइज्ड एकेडेमी, ज्ञानज्योति विद्याकुञ्ज मा.वि., नेसनल क्रियसन एकेडेमी र त्रिवेणी पब्लिक मावि प्रवेश गरेका छन् ।

सोमबार सम्पन्न पहिलो क्वाटरफाइनलमा नेसनल क्रियसन एकेडेमीले बागमारा एकेडेमिक गार्डेनलाई २१ रनले पराजित गर्यो । ६१ रनको लक्ष्य पछ्याएको बागमारा ४६ रनमै समेटियो । दोस्रो क्वाटरफाइनलमा कास्की मोडर्नाइज्ड एकेडेमीले अञ्जुली आवासीय मा.वि.लाई ६ विकेटले हरायो । ४६ रनको लक्ष्य कास्कीले ८.१ ओभरमा पुरा गर्यो । तेस्रो क्वाटरफाइनलमा ज्ञानज्योति विद्याकुञ्जले युनिभर्स बोर्डिङ स्कुलमाथि २८ रनको जित निकाल्यो । ज्ञानज्योतिको ६७ रनको जवाफमा युनिभर्स ३९ रनमा अलआउट भयो ।

अन्तिम क्वाटरफाइनलमा त्रिवेणी पब्लिक माविले लाविन रेसिडेन्सियललाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । त्रिवेणीले सोमबार नै भएको अर्को खेलमा हेम्जा बोर्डिङलाई १ विकेटले पराजित गरेको थियो ।

आज सेमिफाइनल भिडन्त

प्रतियोगिता संयोजक ज्ञानेन्द्र बहादुर थापाका अनुसार मंगलबार (आज) सेमिफाइनल खेलहरू हुनेछन् । पहिलो सेमिफाइनलमा कास्की मोडर्नाइज्ड एकेडेमी विरुद्ध ज्ञानज्योति विद्याकुञ्ज (बिहान ८:०० बजे)  भिडन्त हुनेछ । दोस्रो सेमिफाइनलमा नेसनल क्रियसन एकेडेमी विरुद्ध त्रिवेणी पब्लिक मावि (बिहान ९:५० बजे) भिडन्त  हुनेछ ।

यसैबीच एन प्याब्सन कास्कीले ‘दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता-२०८२’ भव्य रूपमा मनाइरहेको छ । खेलकुद प्रतियोगिता (मंसिर २०-२३) पोखरा रंगशालामा जारी छ भने बाल प्रतिभा पहिचान कार्यक्रम मंसिर २४ देखि २६ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ ।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीका अनुसार महोत्सवको औपचारिक उद्घाटन मंसिर २४ गते हुनेछ । प्रतियोगितामा संस्थामा आबद्ध ४३ विद्यालयका करिब १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।

अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थका अनुसार महोत्सवमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि प्रदर्शनी हुनेछ । साथै, पात, पराल र चोयाबाट निर्मित हस्तकला सामग्रीहरूको प्रदर्शनी र प्रतिस्पर्धा पनि समावेश गरिएको छ ।

सचिव प्रेमराज अधिकारीले अङ्ग्रेजी वक्तृत्वकलामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थी र अन्य विधामा कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाउने जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्
Share: