गौरीशंकर सहकारीको अध्यक्षमा केशब शरण पौडेल सर्वसम्मत, डेढ अर्ब बढीको कुल सम्पत्ति

Share:

पोखरा । पोखराको प्रतिष्ठित वित्तीय संस्था गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लि. को २०औं वार्षिक साधारण सभाले केशब शरण पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । पोखरा-२५ हेमजामा मुख्य कार्यालय रहेको संस्थाको सोमबार सम्पन्न अन्तिम चरणको प्रतिनिधि सभाले पौडेलको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

को-को चुनिए सञ्चालक समितिमा ?

नवनिर्वाचित समितिको उपाध्यक्षमा घनश्याम तिम्सिना, सचिवमा कृष्णबहादुर थापा र कोषाध्यक्षमा टिकाराम बाँस्तोला चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा शोभराज भुर्तेल, जगन्नाथ पौडेल, मिना कुँवर, रितु खड्का र रिता चपाई रहेका छन् ।

यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा दलबहादुर कुँवर तथा सदस्यहरूमा रामचन्द्र सुवेदी र शिरोधर पौडेल चयन भएका छन् ।
वरिष्ठ अधिवक्ता माधवराज बाँस्तोला संयोजक तथा इश्वरी प्रसाद बाँस्तोला र विष्णुहरि पौडेल सदस्य रहेको निर्वाचन उप-समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो । संयोजक बाँस्तोलाले नवनिर्वाचित समितिलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।

कास्की जिल्लामै उत्कृष्ट मानिने गौरीशंकर सहकारीले वित्तीय रूपमा आफूलाई बलियो अवस्थामा उभ्याएको छ । साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको कुल सम्पत्ति तथा दायित्व १ अर्ब ५३ करोड ९ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

संस्थाको हालको वित्तीय अवस्था यस्तो छ:

शेयर पुँजी: १४ करोड ४१ लाख ६४ हजार ८ सय रुपैयाँ
बचत तथा निक्षेप: १ अर्ब १५ करोड २१ लाख ९७ हजार रुपैयाँ
ऋण लगानी: ९४ करोड ९६ लाख ५७ हजार रुपैयाँ
साधारण जगेडा कोष: ८ करोड ९२ लाख ९५ हजार रुपैयाँ
ऋण नोक्सानी व्यवस्था: ७ करोड ३६ लाख ८३ हजार रुपैयाँ
नगद तथा बैंक मौज्दात (तरलता): ५२ करोड ३७ लाख १९ हजार रुपैयाँ

सञ्चालन मुनाफा: १ करोड ३१ लाख ६७ हजार रुपैयाँ

संस्थामा हाल ७ हजार ३ सय ४३ जना शेयर सदस्य आवद्ध छन् । सहकारीमा ५२ करोडभन्दा बढी तरलता (नगद मौज्दात) रहनुले संस्थाको वित्तीय सबलता पुष्टि गरेको छ । संस्थामा सदस्य संख्या धेरै भएकाले सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको निर्देशन पालना गर्दै संस्थाले ४ वटा इकाईमा विभाजन गरी साधारण सभा गरेको थियो ।

शुक्रबार र शनिबार पोखरा-२५ हेमजा, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका तथा पोखराका विभिन्न वडाहरूलाई समेटेर इकाई भेला सम्पन्न गरिएको थियो । ती इकाईबाट छानिएर आएका प्रतिनिधिहरूले सोमबारको अन्तिम सभामा निर्णय प्रमाणीकरण गर्दै नयाँ नेतृत्व चयन गरेका हुन् ।

निवर्तमान अध्यक्ष रुद्रनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष डबल बहादुर कुँवरले नयाँ समितिलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा उपाध्यक्ष खड्गबहादुर कार्कीले स्वागत र निवर्तमान सचिव घनश्याम तिम्सिनाले सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: