
पोखरा । सडक विस्तारसँगै पुराना चर्चित पदमार्गहरूमा धुलो र कोलाहल बढेपछि पदयात्रीहरूका लागि म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालनमा आएको छ । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गतको भुरुङ-तातोपानी-घोडेपानी-उल्लेरी-वीरेठाँटी-नयाँपुल खण्ड मोटरबाटोले विस्थापित भएपछि प्रकृतप्रेमी पर्यटकहरूले शान्त र मनोरम नयाँ रुट रोज्न थालेका हुन् । पर्यटन व्यवसायीहरूले यसलाई ‘धौलागिरि अन्नपूर्ण’ पदमार्गको नाम दिएका छन् ।
कहाँ-कहाँ पुगिन्छ ?
यो नयाँ पदमार्गले कास्की र म्याग्दीको अन्नपूर्ण तथा पर्वतको मोदी गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यलाई एउटै मालामा उनेको छ । कास्कीको उल्लेरीबाट सुरु भएर म्याग्दीको मोहरेडाँडा, पुनहिल, घोडेपानी, स्वाँत, खोप्रा लेक, खयरबराही ताल, बयली, मुल्डे भ्यु पोइन्ट हुँदै कास्कीकै घान्द्रुक, लान्द्रुक र घम्पुससम्म यो पदमार्ग फैलिएको छ ।
पथप्रदर्शक दिनेशकुमार घिमिरेका अनुसार यो रुटमा १० देखि १५ दिनसम्मको प्याकेज बनाएर यात्रा गर्न सकिन्छ । “गाउँगाउँमा सडक पुगेपछि पुराना पदमार्ग मासिए, तर यो नयाँ रुटमा सडकले छोएको छैन,” घिमिरेले भने, “यहाँ पर्यटकले विशुद्ध पदयात्राको मज्जा लिन पाउँछन् ।
ग्रामीण जीवनशैली, शान्त वातावरण, हिमशृङ्खलाको काख र जंगली जनावर तथा चराचुरुङ्गीको अवलोकन यो पदमार्गको मुख्य आकर्षण हो ।” राजधानी पोखराबाट नजिक पर्ने भएकाले पनि विदेशी तथा स्वदेशी पर्यटकको आकर्षण ह्वात्तै बढेको छ ।
दैनिक १०० पर्यटक: गाउँ फर्किएर होटल खोल्दै युवा
रुट चल्तीमा आएपछि स्थानीय अर्थतन्त्र चलायमान भएको छ । पदमार्गमा पर्ने स्वाँतका होटल व्यवसायी बलबहादुर तिलिजा पुनका अनुसार अहिले दैनिक करिब १०० जना पर्यटक यो बाटो भएर हिँड्ने गरेका छन् ।
“पर्यटकको लर्को लाग्न थालेपछि बजार गएकाहरू पनि गाउँ फर्किएर होटल व्यवसाय सुरु गर्न थालेका छन्,” उनले भने, “गाउँमा नयाँ होटल र रेष्टुरेन्टहरू खुल्ने क्रम बढेको छ ।”
समुन्द्री सतहबाट २,३०० मिटर उचाइमा रहेको स्वाँत पदयात्रीको विश्राम स्थल बनेको छ भने ३,६६० मिटर उचाइको खोप्रा लेक र खयरबराही ताल मुख्य आकर्षणका केन्द्र हुन् ।
बयलीका व्यवसायी लोकबहादुर पुर्जाका अनुसार यो क्षेत्रमा क्याम्पिङ र होटल दुवै सुविधा उपलब्ध छ । यद्यपि, भिर र जंगलको बाटो भएकाले गाइड लिएर मात्र यात्रा गर्न उनले सुझाव दिएका छन् ।
यता, अन्नपूर्ण गाउँपालिका-५ का वडाध्यक्ष राजेश तिलिजा पुनले नयाँ गन्तव्यको प्रवर्द्धनका लागि गाउँपालिकाले योजना बनाएको बताए । उनले भने, “हामीले पदमार्गको स्तरोन्नति, सामुदायिक लजहरूको क्षमता विस्तार र नयाँ गन्तव्य पहिचानमा विशेष जोड दिएका छौं ।”
