एनपीएल-२ विराटनगर ७८ रनमै अलआउट: साविक उपविजेता सुदूरपश्चिम सानदार जितसहित फाइनलमा प्रवेश

Share:

काठमाडौं । साविक उपविजेता सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि ७७ रनको फराकिलो जित निकाल्दै सुदूरपश्चिमले उपाधि नजिक स्थान सुरक्षित गरेको हो। सुदूरपश्चिमले दिएको १५६ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा मात्र ७८ रनमा अलआउट भयो। यो एनपीएलको दोस्रो संस्करणमा रनको आधारमा कुनै पनि टोलीले व्यहोरेको सबैभन्दा ठूलो हार हो।

विनोदको अर्धशतक र सुदूरपश्चिमको ब्याटिङ

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो। टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याउन ओपनर विनोद भण्डारीले कप्तानी इनिङ खेले। ५२ बल सामना गरेका विनोदले ३ चौका र २ छक्कासहित ६३ रन बनाए। यो जारी सिजनमा उनको दोस्रो अर्धशतक हो।

विनोदबाहेक सेल्डन ज्याक्सन र आरिफ शेखले समान २०/२० रनको योगदान दिए। हर्मित सिंहले १४ र इशान पाण्डेले १३ रन जोडे। इशानलाई विराटनगरका नरेन भट्टले बाउन्ड्री लाइनमा उत्कृष्ट क्याचमार्फत पेभेलियन फर्काएका थिए।

विराटनगरको ब्याटिङ ध्वस्त

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरको सुरुवात निकै खराब रह्यो। ओपनर साम हेजलेट दोस्रो इनिङको पहिलो बलमै आउट भए भने नरेन भट्ट पनि ‘गोल्डेन डक’ को शिकार भए। मार्टिन गप्टिल (२ रन) र लोकेश बम (५ रन) सस्तैमा आउट हुँदा विराटनगर संकटमा परेको थियो।

विराटनगरका लागि कप्तान फाफ डु प्लेसिसले एक्लै संघर्ष गर्दै सर्वाधिक ३६ रन बनाए। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै मर्चेन्ट डी लांगेले १५ र बसिर अहमदले १२ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्।

विराटनगरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका बलरहरू हाबी भए। हर्मित सिंह, स्कट कुग्गेलिन र अभिनाश बोहराले समान २/२ विकेट लिए। किफायती बलिङ गरेका कुग्गेलिनले ३ ओभरमा ९ रन र हर्मितले ४ ओभरमा २० रन खर्चिए। हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले १/१ विकेट हात पारे।

लिग चरणमा शीर्ष स्थानमा रहँदै क्वालिफायर खेलेको सुदूरपश्चिम यो जितसँगै सोझै फाइनलमा पुगेको छ। पराजित भए पनि लिगको दोस्रो स्थानमा रहेको विराटनगरको फाइनल पुग्ने सम्भावना भने सकिएको छैन। विराटनगरले अब बुधबार हुने इलिमिनेटर खेल (काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच) को विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि भिड्नेछ।

कमेन्ट गर्नुहोस्
Share: