
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि होडमा रहने कि बाहिरिने ? यो प्रश्नको छिनोफानो आज (बुधबार) हुँदैछ । इलिमिनेटर चरणको खेलमा करण केसीको कप्तानीमा रहेको काठमाण्डु र राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल नेतृत्वको लुम्बिनी एक–अर्काविरुद्ध मैदान उत्रिँदैछन् ।
त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने यो खेल दुवै टिमका लागि ‘गर या मर’ को अवस्था हो । पराजित हुने टोलीको यात्रा यहीँ समाप्त हुनेछ भने विजेता टोलीले फाइनल प्रवेशका लागि बिहीबार विराटनगर किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ ।
आजको खेल केवल दुई सहरको प्रतिस्पर्धा मात्र होइन, यो अनुभव र वर्तमान नेतृत्वबीचको लडाइँ पनि हो । राष्ट्रिय टोलीका अनुभवी अलराउन्डर करण केसी र वर्तमान कप्तान रोहित पौडेल आमने-सामने हुँदा खेल थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
अंक तालिकामा काठमाण्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेका हुन् । लिग चरणका ७ खेलमध्ये ५ मा जित निकाल्दै काठमाण्डुले बलियो उपस्थिति जनाएको छ भने लुम्बिनी ४ जितसहित यहाँसम्म आइपुगेको हो ।
बदलाको दाउमा लुम्बिनी
जारी सिजनको लिग चरणमा यी दुई टोली भिद्दा काठमाण्डुले बाजी मारेको थियो । उक्त खेलमा काठमाण्डुसँग २२ रनले पराजित भएको लुम्बिनी, आजको निर्णायक खेलमा जित निकाल्दै सो हारको बदला लिन चाहन्छ । उता, लिग चरणमा राम्रो प्रदर्शन गरेको काठमाण्डु आफ्नो लय कायम राख्दै उपाधि नजिक पुग्ने दाउमा छ ।
सुदूरपश्चिम फाइनलमा, विराटनगर दोस्रो मौकाको पर्खाइमा
मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किङ्ग्सलाई ७७ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । आजको खेल जित्ने टोलीले सोही विराटनगरसँग दोस्रो क्वालिफायर खेल्नेछ ।दुवै टोली पहिलो सिजनमा लिग चरणबाटै बाहिरिएका थिए । तर, यसपटक दुवै टिम सुधारिएको प्रदर्शनसहित उपाधि उचाल्ने सपना बोकेर मैदानमा उत्रिनेछन् ।
