
पोखरा । गाउँबाट सहर र विदेश बसाइँ सर्ने क्रम बढेर बस्तीहरू रित्तिन थालेपछि स्याङ्जाको कोल्मामा गाउँलाई जोड्ने एक विशेष अभियान स्वरूप छैटौं राष्ट्रिय स्तरको क्रस कन्ट्री दौड प्रतियोगिता आयोजना हुने भएको छ । ‘सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च’ को आयोजनामा आगामी पुस ८ गते स्याङ्जाको कोल्मा बराह चौरमा यो प्रतियोगिता हुन लागेको हो ।
चारथुम र सात सय कोल्मा बाहकोट क्षेत्रका बासिन्दाहरू हङकङ, बेलायत, जापान, अमेरिका लगायत पोखरा र काठमाडौँमा छरिएर रहेका छन् । गाउँ छाडेर गएका मनहरूलाई पुनः गाउँसँग जोड्न, उजाड हुँदै गएका बस्तीमा चहलपहल बढाउन र पर्यटन प्रवर्द्धन गर्न यो दौड आयोजना गरिएको मञ्चका अध्यक्ष दूतप्रसाद गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङले भने, ‘स्वर्गजस्तो जन्मभूमि र माटोको रक्षा गर्न, विदेशिएका र पलायन भएका मनहरूलाई जोड्न हामीले खेलकुद र पर्यटनलाई माध्यम बनाएका छौं ।’ कार्यक्रममा दौडसँगै स्थानीय लोक संस्कृतिको प्रदर्शन र होम स्टे साँझसमेत आयोजना गरिनेछ ।
६ विधामा प्रतिस्पर्धा: ३० कटेका महिलालाई ‘लुङ्गी दौड’
१. खुल्ला पुरुष/महिला २५ कि.मि. दौड
२. खुल्ला महिला १० कि.मि. दौड
३. २१ वर्ष मुनिका पुरुष १० कि.मि. दौड
४. विद्यार्थी छात्र ५ कि.मि. दौड
५. विद्यार्थी छात्रा ५ कि.मि. दौड
६. ३० वर्ष माथिका महिलाका लागि ‘रन फर फन’ (लुङ्गी दौड)
प्रतियोगिताका विजेताहरूका लागि नगद पुरस्कारको व्यवस्था
२५ कि.मि. खुल्ला (पुरुष/महिला): प्रथम ५० हजार, द्वितीय ४० हजार र तृतीय ३० हजार रुपैयाँ ।
१० कि.मि. (महिला तथा २१ वर्ष मुनिका पुरुष): प्रथम २० हजार, द्वितीय १५ हजार र तृतीय १० हजार रुपैयाँ ।
५ कि.मि. (विद्यार्थी): प्रथम ८ हजार, द्वितीय ५ हजार र तृतीय ३ हजार रुपैयाँ ।
लुङ्गी दौड: प्रथम ५ हजार, द्वितीय ३ हजार र तृतीय २ हजार रुपैयाँ ।
सबै विधामा १० औं स्थानसम्म आउने धावकलाई नगद र मेडलले पुरस्कृत गरिनेछ भने २५ कि.मि. दौडमा स्थानीय कोल्मा बहाकोट क्षेत्रका उत्कृष्ट १ खेलाडीलाई प्रोत्साहन स्वरूप ५ हजार प्रदान गरिनेछ । दौड कोल्मा बराहचौरबाट सुरु भएर सोही स्थानमा आएर समापन हुनेछ ।
२५ कि.मि. रुट: कोल्मा, काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, खल्लुवोट, बिसाउना, खर्दी, मड्किना हुँदै कोल्मा ।
१० कि.मि. रुट: कोल्मा, काहुले, ज्यामिरे, भैसेगौडा, राङभाङ हुँदै कोल्मा ।
५ कि.मि. रुट: कोल्मा, पोखरीछाप, बासपानी, रामचौतारा हुँदै कोल्मा ।
प्रतियोगिता सम्पन्न गर्न कोल्मा बहाकोट समाज यूके, प्रदेश खेलकुद परिषद गण्डकी, पुतलीबजार र शुक्लागण्डकी नगरपालिका, स्याङ्जा सहयोग समाज लगायत विभिन्न संघसंस्था र सुरक्षा निकायको विशेष सहयोग रहेको महासचिव जीवन पोख्रेलले जानकारी दिए ।
