पर्यटकको मन जित्न बाग्लुङमा यातायात व्यवसायी र चालकलाई प्रशिक्षण

Share:

पोखरा। पर्यटकलाई गर्ने व्यवहार र सुरक्षित यात्राको सुनिश्चितताका लागि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले बाग्लुङमा विशेष अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। कास्की, कुस्मा (पर्वत), बाग्लुङ र म्याग्दीका यातायात व्यवसायी, चालक तथा सहचालकहरूलाई एकै थलोमा भेला गराएर सोमबार पर्यटन मैत्री व्यवहार र ट्राफिक नियमबारे प्रशिक्षण दिइएको हो।
‘चालकको व्यवहारले देशको छवि निर्धारण गर्छ’ कार्यक्रमको उद्घाटन गर्दै बाग्लुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङले पर्यटक यातायात व्यवसायी र कर्मचारी देशको ‘ऐना’ भएको बताए। उनले भने, “तपाईंहरूले विदेशी पाहुनालाई गर्ने व्यवहारले सिंगो नेपालको पहिचान झल्काउँछ। त्यसैले गुणस्तरीय सेवा र मृदुभाषी व्यवहार पहिलो सर्त हुनुपर्छ।”

सिडिओ गुरुङले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा पनि पर्यटक यातायातको छुट्टै पहिचान स्पष्ट देखिने व्यवस्था हुनुपर्नेमा जोड दिए।

पोखरा बाहिर पनि प्रशिक्षण र प्रवर्द्धन

एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दाहालले पोखरामा केन्द्रित कार्यक्रमलाई विस्तार गर्दै यसपटक बाग्लुङमा आएर तालिम आयोजना गरिएको बताए। उनले राज्यको नीति पर्यटक यातायात मैत्री हुनुपर्ने भन्दै गुणस्तरीय सेवाका लागि संस्था प्रतिबद्ध रहेको स्पष्ट पारे।

कार्यक्रम संयोजक एवं एनटिभिएका प्रथम उपाध्यक्ष रविप्रसाद आचार्यले यो कार्यक्रम केवल तालिममा मात्र सीमित नभई आन्तरिक पर्यटन प्रवर्द्धनको अभियान पनि भएको बताए। उनले भने, “हामीले तालिमसँगै पोखराबाट बाग्लुङ, बुर्तिबाङ हुँदै ढोरपाटनसम्मको प्रवर्द्धनात्मक भ्रमण पनि आयोजना गरेका छौँ।”

अभिमुखीकरण सत्रमा पर्यटन विज्ञ दीपेन्द्र पहारीले ‘पर्यटनमा आतिथ्यता र पाहुना सत्कारको महत्वबारे प्रशिक्षण दिएका थिए। यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाग्लुङका प्रमुख मीनबहादुर कुँवरले ट्राफिक नियम र सुरक्षित यातायात सञ्चालनका प्राविधिक पक्षबारे जानकारी गराएका थिए।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकीका वरिष्ठ अधिकृत युवराज गुरुङले पर्यटनले समुदायको जीवनस्तर उकास्ने बताए। यस्तै, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी र एनटिभिएका सल्लाहकार बोबरजंग गुरुङले यातायात क्षेत्र पर्यटनको मेरुदण्ड भएको भन्दै यसलाई मर्यादित बनाउनुपर्नेमा जोड दिए।

एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धौलागिरी–गण्डकी यातायात सेवा प्रा.लि.का अध्यक्ष उमेश केसी र बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन शाक्य लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन महासचिव विकास कँडेलले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: