
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाभित्र लुकेको प्रतिभा समयमै पहिचान गरी उनीहरूलाई सही मार्गनिर्देश गर्नुपर्नेमा जोड दिएका छन्। बालबालिकाको सर्वांगीण विकासमा परिवार, विद्यालय र राष्ट्रको भूमिका अहम् हुने उनले बताए।
नेशनल प्याब्सन (एनप्याब्सन) कास्कीको आयोजनामा पोखरामा सुरु भएको ‘दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता’ को बुधबार उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले यस्तो बताएका हुन्।
समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले आजको युग सिर्जनात्मकता र नवीनताको युग भएको उल्लेख गरे। उनले भने, “बाल प्रतिभाहरूलाई सही वातावरण, उत्प्रेरणा र प्रोत्साहन दिएर हुर्काउन सकियो भने उनीहरूले समाजमा अभूतपूर्व योगदान दिन सक्छन्।”
उनले बालबालिकाको जिज्ञासालाई सम्मान गर्ने र उनीहरूका गल्तीलाई पनि सिकाइको अवसरका रूपमा लिने संस्कारको विकास गर्नुपर्नेमा जोड दिए। “प्रतिभाको पहिचान र प्रशंसा भएपछि बालबालिकाको मनोबल बढ्छ, जसले उनीहरूलाई आत्मविश्वासी र जिम्मेवार बनाउँछ,” उनले थपे।
महोत्सवमा के-के हुँदैछ ?
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको महोत्सव मंसिर २६ गतेसम्म चल्नेछ। आयोजक एनप्याब्सन कास्कीका अनुसार महोत्सवमा जिल्लाका ४३ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ।
महोत्सव अवधिभर विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्फुटन गर्नेछन्। जसमामा सामूहिक लोक नृत्य र एकल गायन चित्रकला, कविता वाचन र अभिनय विज्ञान तथा प्रविधि प्रदर्शनी पात, पराल र चोयाबाट निर्मित हस्तकला सामाग्री प्रदर्शनी अंग्रेजी वक्तृत्वकला यी विविध विधामा विद्यार्थीहरूले प्रतिस्पर्धा र प्रदर्शनी गर्नेछन्।
विद्यालयहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी बालबालिकाको सिर्जनशीलता बढाउन यस्ता कार्यक्रम फलदायी हुने विश्वास आयोजकले लिएको छ।



