५० को टिकट काट्दा १०० को फाइदा! लेखनाथ महोत्सवमा दर्शकका लागि धमाकेदार अफर

Share:

पोखरा । यही पुस ३ गतेदेखि सुरु हुने २१औं संस्करणको ‘लेखनाथ महोत्सव’ अवलोकन गर्न जाने दर्शकहरूका लागि खुसीको खबर छ ।आयोजक लेखनाथ उद्योग वाणिज्य संघले अनलाइन सपिङ प्लेटफर्म ‘पसल डट कम’ सँगको सहकार्यमा दर्शकका लागि टिकटको मूल्यभन्दा दोब्बर फाइदा हुने आकर्षक योजना सार्वजनिक गरेको हो । यो योजना अनुसार दर्शकले ५० रुपैयाँको टिकट काट्दा १०० रुपैयाँ बराबरको फाइदा लिन सक्नेछन् ।

कसरी लिने फाइदा ?

टिकट बिक्री व्यवस्थापन उप-समितिका संयोजक सुजन न्यौपानेका अनुसार यो योजनामा सहभागी हुन प्रक्रिया निकै सरल छ । जसमा दर्शकले महोत्सव प्रवेशका लागि ५०, १०० वा २०० रुपैयाँ (जुनसुकै दरको) टिकट खरिद गर्नुपर्नेछ । टिकटको अर्धकट्टी महोत्सवभित्र रहेको ‘पसल डट कम’ को स्टलमा बुझाउनुपर्नेछ । त्यहाँबाट एउटा ‘क्यू आर कोड’ प्राप्त हुनेछ । आफ्नो मोबाइलमा ‘पसल डट कम’ को एप डाउनलोड गरी उक्त कोड स्क्यान गरेपछि १०० रुपैयाँ बराबरको ब्यालेन्स (क्रेडिट) एपमा जम्मा हुनेछ ।

क्रेडिट कसरी प्रयोग गर्ने ?

पसल डट कमका प्रबन्धक यशस्वी तिवारीका अनुसार एपमा जम्मा भएको उक्त क्रेडिट रकम भविष्यमा सामान खरिद गर्दा छुटका रूपमा प्रयोग गर्न सकिनेछ । प्रयोगकर्ताले पसल डट कमबाट न्युनतम ५ सय रुपैयाँको सामान अर्डर गर्दा प्रति अर्डर २० रुपैयाँको दरले उक्त क्रेडिटबाट रकम कटाइनेछ । यो सुविधा जुनसुकै समय अवधिसम्म लागू हुनेछ । एउटा एप प्रयोगकर्ताले महोत्सव अवधिभर दिनमा एक पटक मात्र यो अफर लिन सक्नेछन् ।

लेखनाथ महोत्सवको इतिहासमा पहिलो पटक यस्तो डिजिटल अफर ल्याइएको संघका कोषाध्यक्ष हरि वस्ताकोटीले दाबी गरे । “यसले टिकट काटेर आउने दर्शकलाई प्रत्यक्ष आर्थिक लाभ त दिन्छ नै, साथै टिकट बिक्रीमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ,” उनले भने । पसल डट कमले महोत्सवको टिकट घर र मुख्य टिकट छपाइको प्रायोजन समेत गरेको छ ।

महोत्सव अवधिभर (पुस ३ देखि १४ गतेसम्म) दर्शकका लागि यसरी टिकट दर निर्धारण गरिएको छ । विद्यार्थीको हकमा ५० रुपैयाँ तथा परिचयपत्र अनिवार्य गरेको छ भने सर्वसाधारणलाई १०० रुपैयाँ निर्धारण गरिएको छ ।

सांगीतिक कार्यक्रम बेलुकाका लागि २०० रुपैयाँ निर्धारण गरिएको जनाएको छ । महोत्सवमा मनोरन्जन र व्यापारसँगै अब डिजिटल सपिङको नयाँ अनुभव पनि सँगाल्न पाइने भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: