
पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइड यो शनिबार सांगीतिक माहोलले तात्ने भएको छ । युवा पुस्ताको ढुकढुकी मानिने चर्चित गायक स्वप्निल शर्माले आफ्नो ब्यान्ड ‘स्वर’ सहित यहाँको लोकप्रिय प्याराडिसो स्पोर्ट्स बारमा धमाकेदार लाइभ प्रस्तुति दिने भएका छन् ।
सन् २००० को दशकदेखि नेपाली संगीत आकाशमा उदाएका स्वप्निल आफ्ना भावनात्मक प्रस्तुति र गहिरो शब्द चयनका लागि परिचित छन् । उनका गीतहरूमा जीवनको यथार्थ, प्रेम र सामाजिक सन्देशको मिश्रण पाइन्छ ।
शनिबारको विशेष साँझमा स्वप्निलले आफ्ना चर्चित हिट गीतहरू “हिँड्ने मान्छे लड्छ”, “प्रकृति”, “साथी” र “भूलमा भुल्यो” मार्फत दर्शकलाई मन्त्रमुग्ध पार्नेछन् । साथै, “विस्तारै विस्तारै”, “मेरो भाग्यमा”, “मेरो वरिपरि” जस्ता लोकप्रिय गीतहरू गाउँदै उनले मध्यरातसम्म पोखरेली दर्शकलाई नचाउने तयारी गरेका छन् ।
कन्सर्टका लागि प्याराडिसोले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । बारका म्यानेजर हरि पौडेलका अनुसार दर्शकको सहजताका लागि टिकट दर ८ सय देखि १ हजार ५ सय रुपैयाँसम्म तोकिएको छ ।
प्रविधिमैत्री बन्दै प्याराडिसोले दर्शकका लागि क्यूआर कोडमार्फत अग्रिम टिकट खरिद गर्न र टेबल बुकिङ गर्न सकिने व्यवस्था समेत मिलाएको छ । सप्ताहन्त मनाउन चाहने संगीत प्रेमीहरूका लागि यो शनिबारको साँझ स्वप्निलको साथमा विशेष हुने अपेक्षा गरिएको छ ।
