
पोखरा। पोखरा रंगशालाको टेनिस कोर्टमा जारी ‘आइटिएफ जे–३० वर्ल्ड टेनिस टुर’ मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् ।विश्वभरका युवा खेलाडीहरूको जमघट रहेको यो प्रतियोगितामा नेपालका प्रणव मनन्धर र करण बी थापाले प्रभावशाली खेल पस्किँदै ‘ब्वाइज सिंगल्स’ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् भने ‘गर्ल्स सिंगल्स’ तर्फ स्वस्तिका विष्टले सनसनीपूर्ण जित निकालेकी छन् ।
नेपाली खेलाडीको दबदबा
ब्वाइज सिंगल्सको ‘राउन्ड अफ १६’ मा नेपालका प्रणव मनन्धरले भारतीय खेलाडी यश कुमारलाई ६-१, ६-१ को सोझो सेटमा हराउँदै सहजै अन्तिम आठमा स्थान बनाए । यस्तै, अर्का नेपाली खेलाडी करण बी थापाले निकै रोमाञ्चक र संघर्षपूर्ण खेलमा जित हात पारे । उनले चिनियाँ खेलाडी चुवान डिङलाई पहिलो सेट ५-७ ले गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै बाँकी सेट ६-४, ७-६ (२) ले जितेर क्वार्टरफाइनलको यात्रा तय गरे ।
गर्ल्स सिंगल्सतर्फ नेपालकी स्वस्तिका विष्टले दर्शकको मन जितिन् । उनले भारतीय खेलाडी अनन्या जैनविरुद्धको खेलमा पहिलो सेट ४-६ ले गुमाए पनि उच्च धैर्यता प्रदर्शन गर्दै दोस्रो सेट ६-१ र निर्णायक सेटको टाइब्रेकमा ७-६(४) को कठिन जित निकालिन् ।
प्रतियोगितामा शीर्ष वरीयता प्राप्त खेलाडीहरूलाई जितका लागि निकै संघर्ष गर्नुपर्यो । ब्वाइज सिंगल्सका शीर्ष वरीयताका ताइवानका टिङ–हो याङले भारतीय खेलाडी प्रतीक शोरणसँग पहिलो सेट ०-६ ले गुमाए पनि सानदार कमब्याक गर्दै ६-३, ६-२ ले खेल जिते ।
उता, भारतका अर्श काथुरियाले सिंगापुरका रोबर्ट डोल्यालाई हराउँदै दिनको ठूलो ‘अपसेट’ सिर्जना गरे । गर्ल्स डबल्सतर्फ भने नेपाललाई झड्का लागेको छ । पहिलो वरीयता प्राप्त जोडी नेपालकी सुनिरा थापा र भारतकी कर्थिका पद्मकुमारको जोडी क्यानडा र भारतको जोडीसँग सुपर टाइब्रेकमा पराजित भयो ।
तर, नेपालकी शिभाली गुरुङ र ताइवानकी के-चिएह सुको जोडी तथा नेपालकी स्वस्तिका विष्ट र अमेरिकी जोडीले भने सेमिफाइनलमा स्थान बनाएका छन् । ब्वाइज डबल्सतर्फ भने नेपालका करण बी थापा र भारतीय जोडीले मेडिकल कारणले वाकओभर दिएपछि चिनियाँ जोडी सेमिफाइनल पुगेको छ ।
१६ देशका खेलाडीको भिडन्त
शनिबारसम्म चल्ने यो प्रतियोगितामा नेपालसहित अमेरिका, चीन, भारत, बेलायत, अष्ट्रेलिया, जापानलगायत १६ देशका ८० खेलाडी सहभागी छन् । कास्की टेनिस संघका सचिव भिष्मराज पौडेलका अनुसार प्रतियोगिताका विजेताले ३० र उपविजेताले १८ अंक प्राप्त गर्नेछन् ।
करिब १८ लाख खर्च अनुमान गरिएको यो प्रतियोगितामा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र प्रदेश खेलकुद परिषदले सहकार्य गरेका छन् ।
