
पोखरा। छोटो समयमै आफ्नो बेग्लै पहिचान बनाउन सफल पोखराको ‘लेभल्स क्लब’ ले आफ्नो पहिलो वार्षिकोत्सव भव्यताका साथ मनाउने भएको छ । लेकसाइडमा सञ्चालित यो क्लबले स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा यही मंसिर २७ गते शनिबार विशेष सांगीतिक साँझको आयोजना गरेको हो ।
वार्षिकोत्सवको विशेष रातलाई यादगार बनाउन क्लबले चर्चित कलाकारहरूको जम्बो टोली उतार्दैछ । सञ्चालक अमित रोकाका अनुसार युवा पुस्ताका ढुकढुकी निसान पुन, ‘घोरेपानी डाँडैमा’ बोलको गीतबाट चर्चा कमाएका चन्द्र पुन र ‘गोरी सुनारे’ जस्तो सदाबहार गीतका गायक सम्बोज मल्लले लेभल्स क्लबको मञ्च तताउनेछन् । साथमा कालरात्री ब्याण्डको लाइभ प्रस्तुति र डिजे सेसनले दर्शकलाई रातभर नचाउनेछ ।
वार्षिकोत्सवको कोसेढुंगासँगै क्लबले सेवा विस्तार पनि गरेको छ । ग्राहकको उच्च माग र आधुनिक चाहनालाई मध्यनजर गर्दै वार्षिकोत्सवकै दिनदेखि अत्याधुनिक ‘रुफ टप बार’ सञ्चालनमा ल्याइने सञ्चालक रोकाले जानकारी दिए । अब आगन्तुकले खुला आकाशमुनि पोखराको सुन्दरता नियाल्दै खानपानको मज्जा लिन पाउनेछन् ।
क्लबका सञ्चालक अमित रोका विदेशबाट फर्किएर आफ्नै देशमा केही गर्ने हुटहुटीका साथ व्यवसायमा होमिएका युवा उद्यमी हुन् । यसअघि साझेदारीमा व्यवसाय गरेको अनुभव सँगालेका रोकाले लेभल्स क्लबमार्फत एकल लगानीमा ठूलो आँट गरेका छन् ।
यो क्लबले मनोरञ्जन मात्र दिएको छैन, पोखराको अर्थतन्त्रमा पनि योगदान पुर्याएको छ । क्लबले हाल प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ७० जनालाई रोजगारी प्रदान गरिरहेको छ ।
एक वर्षको छोटो अवधिमै युवा पुस्ता र पर्यटकको प्रमुख रोजाइ बन्न सफल भएकोमा सञ्चालक रोकाले सबै ग्राहकप्रति आभार व्यक्त गरे ।
उनले भने, “पोखराको नाइट-लाइफलाई अझ व्यवस्थित, सुरक्षित र मनोरञ्जनात्मक बनाउन हामी प्रतिबद्ध छौँ । यो एक वर्ष त सुरुवात मात्र हो, आगामी दिनमा अझ स्तरीय सेवा दिनेछौँ ।”


