गण्डकीमा ९३ कर्मचारी दीक्षित: इन्जिनियरिङ कर्मचारीलाई व्यवहारिक ज्ञान, पूर्वाधार विकासमा टेवा पुग्ने विश्वास

Share:

पोखरा । गण्डकी प्रदेशका स्थानीय तहमा कार्यरत प्राविधिक (इन्जिनियरिङ) सेवाका कर्मचारीहरूका लागि सञ्चालित ‘सेवा प्रवेश तालिम’ बिहीबार सम्पन्न भएको छ। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको यो विशेष तालिमबाट प्रशासन र प्राविधिक गरी कुल ९३ जना कर्मचारी दीक्षित भएका छन्।

प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई स्थानीय तहमा पुगेका सब-इन्जिनियर, खानेपानी तथा सरसफाइ टेक्निसियन र असिस्टेन्ट सब–इन्जिनियरहरूलाई लक्षित गरी मंसिर २१ गतेदेखि प्राविधिक सत्र सञ्चालन गरिएको थियो। सामाजिक विकास मन्त्रालयको सभाहलमा आयोजित समापन समारोहमा बोल्दै प्रतिष्ठानका कार्यकारी निर्देशक एवं प्रमुख अतिथि सुरेन्द्रबाबु तिवारीले यो तालिमले प्रदेश निजामती सेवाको शान बढाउने विश्वास व्यक्त गरे।

‘तपाईंहरूले सिकेको सीपले सेवा प्रवाहमा कुशलता र पारदर्शिता मात्र ल्याउने छैन, स्थानीय पूर्वाधार विकास निर्माणमा पनि ठूलो सहयोग पुग्नेछ,’ कार्यकारी निर्देशक तिवारीले भने।

तालिमका संयोजक एवं प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले यसपटकको तालिम नितान्त व्यवहारिक बनाइएको जानकारी दिए।

‘हामीले शुद्ध प्राविधिक कर्मचारीका लागि स्थानीय तहको विकास निर्माणमा देखिने वास्तविक समस्या समाधानमा केन्द्रित भएर कोर्स डिजाइन गरेका थियौं,’ इन्जिनियर पौडेलले भने, ‘विज्ञहरूमार्फत लागत अनुमान, दररेट विश्लेषण, निर्माण सामग्रीको गुणस्तर छनोट जस्ता विषयमा फिल्डमै आधारित रहेर अभ्यास गराइएको छ।’

सहभागी भन्छन्– ‘सोचेभन्दा धेरै सीप सिक्यौं’

तालिममा सहभागी २१ जना प्राविधिक कर्मचारीहरूले यसलाई ‘करियर’कै महत्वपूर्ण सिकाइ मानेका छन्। सहभागी सन् सन्तुलन नेपालीले तालिमले प्राविधिक रूपमा दक्ष बनाउनुका साथै दीर्घकालीन पूर्वाधार निर्माणमा भूमिका खेल्न सघाउने बताए।

अर्का सहभागी दीपक खनालले अनुभव सुनाउँदै भने, ‘फोहोरमैला व्यवस्थापन, स्वच्छ खानेपानी, वातावरणीय मूल्याङ्कन जस्ता संवेदनशील विषयमा प्रत्यक्ष अभ्यास गर्न पायौं। सोचेभन्दा धेरै ज्ञान र सीप लिएर कार्यक्षेत्रमा फर्किँदैछौं।’

प्रतिष्ठानका निर्देशक एवं समापन सत्रका अध्यक्ष लक्ष्मण तिमिल्सिनाले प्रतिष्ठानले पहिलो पटक सहायक स्तरका प्राविधिकका लागि विषयवस्तुमै आधारित भएर तालिम चलाएको बताए।

उनले दीक्षित कर्मचारीहरूलाई बधाई दिँदै कार्यक्षेत्रमा नतिजा देखिने गरी काम गर्न आग्रह गरे। प्रतिष्ठानका लेखा अधिकृत प्रशान्त सुवेदीका अनुसार मंसिर १४ देखि १९ सम्म प्रशासन तर्फका ७२ जना र मंसिर २१ देखि २५ सम्म प्राविधिक तर्फका २१ जना गरी कुल ९३ जना कर्मचारीले सफलतापूर्वक सेवा प्रवेश तालिम पूरा गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: