आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पोखराको टोली ढोरपाटनमा, व्यवसायीबीच साझेदारी र गन्तव्य खोजीमा जोड

Share:

पोखरा । आन्तरिक पर्यटन प्रवर्द्धन र नयाँ गन्तव्यको खोजी गर्दै नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीको जम्बो टोली बागलुङको चर्चित पर्यटकीयस्थल ढोरपाटन आइपुगेको छ।

पोखराबाट बुधबार निस्किएको ४५ सदस्यीय प्रवद्र्धन टोली तीन दिने अभियान अन्तर्गत बिहीबार ढोरपाटन आइपुगेको हो। ‘पर्यटकीय साझेदारी र गन्तव्यस्थलहरूको स्थलगत अवलोकन’ भन्ने नारासहित टोलीले यात्रा सुरु गरेको संघका गण्डकी प्रदेश अध्यक्ष दुर्गादत्त दहालले जानकारी दिए।

प्रवद्र्धन टोलीले नेपालकै एक मात्र शिकार आरक्ष रहेको क्षेत्र ढोरपाटनका पर्यटकीय गन्तव्यहरूको अवलोकन गरेको छ। टोलीले धार्मिक पर्यटकीय महत्व बोकेको प्रसिद्ध उत्तरगंगा ढोरबराह मन्दिर लगायतका स्थानको भ्रमण गर्दै यहाँका स्थानीय व्यवसायीसँग अन्तरक्रिया गरेको छ।

अध्यक्ष दहालका अनुसार गण्डकी प्रदेश भित्रका पर्यटकीय गन्तव्यहरूको प्रचार/प्रसार गर्ने र पोखरा तथा बागलुङका पर्यटन व्यवसायीबीच साझेदारी बढाउने उद्देश्यले ढोरपाटनमा छलफल गरिएको हो।

यात्राकै क्रममा बुधबार बागलुङ बजारमा नेपाल पर्यटन बोर्ड गण्डकी र एनटिभिए गण्डकीको संयुक्त आयोजनामा विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रम संयोजक एवं संघका प्रथम उपाध्यक्ष रविप्रसाद आचार्यका अनुसार कास्की, बागलुङ, पर्वत र म्याग्दीका यातायात व्यवसायीहरूलाई ‘पर्यटक आतिथ्यता, पर्यटनमैत्री व्यवहार र यातायात सम्बद्ध ऐन नियम’ बारे प्रशिक्षण दिइएको थियो।

को-को छन् टोलीमा ?

अध्यक्ष दहालको नेतृत्वमा रहेको टोलीमा नेपाल पर्यटन बोर्ड गण्डकीका वरिष्ठ अधिकृत युवराज गुरुङ, संघका सल्लाहकार एवं पूर्व अध्यक्ष बोबरजंग गुरुङ, निवर्तमान अध्यक्ष बाबुराम पाण्डे, पोखरेली ट्याक्सी सेवाका अध्यक्ष शोभाकान्त पौडेलसहित पर्यटन व्यवसायी र सञ्चारकर्मीहरू सहभागी छन्।

भ्रमणका क्रममा नेपाल पर्यटन बोर्ड गण्डकीका वरिष्ठ अधिकृत युवराज गुरुङले पर्यटन विकासका लागि गन्तव्यहरूको निरन्तर प्रवर्द्धन आवश्यक रहेको बताए। उनले भने, ‘गन्तव्यको प्रचारसँगै सरोकारवाला निकायबीचको समन्वय र स्थानीय पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिमा पनि उत्तिकै जोड दिनुपर्छ।’

कमेन्ट गर्नुहोस्
Share: