फागुन २१ को चुनाव नजिकिँदै: गण्डकीमा तात्यो राजनीति, कुन दलको तयारी कस्तो ?

Share:

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै गण्डकी प्रदेशमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । निर्वाचन आउन अब ८४ दिन मात्र बाँकी रहँदा ‘जेनजी’ आन्दोलनपछि केही सुस्ताएको यहाँको राजनीतिक माहोल फेरि गर्माएको हो । प्रमुख राजनीतिक दलहरू आन्तरिक संगठन सुदृढीकरण, महाधिवेशन र उम्मेदवार छनोटको चटारोमा जुटेका छन् । अघिल्लो निर्वाचनमा प्रदेशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले उम्मेदवार सिफारिस र संगठन विस्तारलाई तीव्रता दिएको छ ।

कांग्रेस: महाधिवेशन र उम्मेदवार छनोट एकसाथ

आगामी पुस २६ देखि २८ गतेसम्म हुने १५औँ महाधिवेशनले पनि कांग्रेसभित्रको माहोल तताएको छ । कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेका अनुसार अहिले जिल्लाबाट प्रत्यक्ष र समानुपातिकतर्फका सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने काम भइरहेको छ । ‘निर्वाचन र महाधिवेशन नजिकिएकाले जिल्ला र प्रदेशस्तरमा पार्टीका भेला तथा बैठकहरू बाक्लिएका छन्, अहिले सिंगो पार्टी पंक्ति तयारीमा जुटेको छ,’ लामिछानेले भने ।

एमाले: महाधिवेशनको संघारमा

नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिबेला आफ्नो ११औँ महाधिवेशनको संघारमा छ । शनिबारदेखि सुरु हुने महाधिवेशनका लागि नेता तथा कार्यकर्ता राजधानी जाने क्रम सुरु भएको छ । एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले महाधिवेशनले पार्टीको आन्तरिक जीवनलाई चलायमान बनाएको बताए । ‘महाधिवेशनले राष्ट्रिय राजनीतिमा प्रभाव त राख्छ नै, तर यो एमालेको आन्तरिक जीवनमा धेरै महत्त्वपूर्ण छ,’ उनले भने, ‘निर्वाचन घोषणा भइसकेको अवस्थामा दलका गतिविधि बढ्नु स्वाभाविक हो ।’

नेपाली कम्युनिस्ट पार्टी: एकता सन्देश सभा लिएर गाउँ-गाउँमा

विभिन्न समूहबीचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टी पनि चुनावी अभियानमा होमिएको छ । मंसिर १४ गते पोखराबाट सुरु भएको ‘एकता सन्देश सभा’ अहिले जिल्लास्तरमा भइरहेको छ । पार्टीका केन्द्रीय सदस्य ज्ञामनाथ गैरे ‘अनिल’ का अनुसार बिहीबार गोरखा र लमजुङमा सभा सम्पन्न भएको छ भने शुक्रबार तनहुँ, पर्वत र स्याङ्जामा तथा शनिबार बागलुङ र नवलपुरमा कार्यक्रम तय गरिएको छ । गैरेले भने, ‘हामी निर्वाचनमा भाग लिने घोषणासहित तयारीमा छौँ ।

रास्वपा: संगठन विस्तार र आकांक्षीको खोजी

एकताको सन्देशले चुनावी माहोल बनाउन मद्दत गरेको छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि चुनावी गतिविधिलाई तीव्रता दिएको छ । रास्वपा बागलुङका जिल्ला सदस्य राजेन्द्र शर्माले संगठन विस्तारसँगै उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

‘बागलुङका १६ वटा वडामा अधिवेशन सकिएको छ । समानुपातिकतर्फ ४ जना आकांक्षीको नाम सिफारिस गरेका छौँ भने प्रत्यक्षतर्फ आवेदन लिने काम भइरहेको छ,’ शर्माले भने । जिल्लाबाट नाम सिफारिस भए पनि उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रले लगाउने उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: