
पोखरा । अंग्रेजी नयाँ वर्षको स्वागतका लागि सिँगारिँदै गरेको मुलुकको पर्यटन राजधानी पोखरामा पर्यटक र स्थानीयका लागि अर्को एउटा ‘गुलियो’ महोत्सवको तयारी पूरा भएको छ। पर्यटकीय गतिविधिमा विविधता थप्न र कृषि पर्यटनलाई प्रवर्धन गर्न पोखराको चर्चित पर्यटकीय गन्तव्य महेन्द्रगुफा परिसरमा आगामी शुक्रबार ‘मौरी तथा मह मेला-२०८२’ आयोजना हुँदैछ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा, वडा नम्बर १६ र वडास्तरीय कृषि सञ्जालको संयुक्त आयोजनामा हुने यस मेलामा केवल मह बिक्री मात्र हुने छैन, यसले कृषक र उपभोक्तालाई जोड्ने रोचक गतिविधिहरू समेत समेट्नेछ।
महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार मेलाका विशेष आकर्षणहरू परम्परागत र आधुनिक प्रविधिबाट मह कसरी काढिन्छ भन्ने प्रत्यक्ष अवलोकन, स्थानीय किसानले उत्पादन गरेको शुद्ध महको प्रदर्शनी तथा बिक्री, कृषकहरूबीच वक्तृत्वकला, मौरीपालन सम्बन्धी खुला हाजिरीजवाफ र उत्कृष्ट मौरीपालकलाई सम्मान, मौरीपालन सम्बन्धी भ्रम निवारण र प्रविधि प्रवर्धनलगायत हुनेछन् ।
पोखरामा महको बजार निकै लोभलाग्दो देखिएको छ। महानगरले किसानलाई प्रोत्साहन गर्न प्रतिकिलो ८ सय २५ रुपैयाँ समर्थन मूल्य तोकेको भए पनि बजारमा माग उच्च हुँदा किसानले त्योभन्दा दोब्बर मूल्य पाइरहेका छन्।
हाल पोखरामा उत्पादित स्थानीय मह प्रतिकिलो १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्ममा सहजै बिक्री भइरहेको छ। महाशाखा प्रमुख कडरिया भन्छन्, ‘समर्थन मूल्य दिनुपर्ने अवस्था नै छैन, उल्टै बजारको माग धान्न नसक्ने अवस्था छ।’
पोखरा-१६ बन्यो ‘मौरी हब’
पोखरा महानगरपालिकाले वडा नम्बर १६ सहित चार वडालाई ‘मौरी पकेट क्षेत्र’ घोषणा गरेको छ। वडा नम्बर १६ मा मात्रै ५ सय जना मौरीपालक किसानहरू सक्रिय छन्। वडास्तरीय कृषि सञ्जालका अध्यक्ष जितबहादुर बस्नेतका अनुसार यस वडामा ४ सय घार सेरेना र करिब २ सय घार मेलिफेरा जातका मौरी पालिएका छन्। ‘मौरीले मह मात्र दिँदैन, बालीनालीमा परागसेचन गराएर उत्पादन बढाउँछ। यो दोहोरो फाइदाको तथ्य हामी मेलामा बुझाउनेछौं,’ बस्नेतले भने।
तीव्र सहरीकरण र आवास निर्माणले पोखराको कृषि भूमि खुम्चिँदै गएको सन्दर्भमा यो महोत्सवले विशेष अर्थ राख्छ। मौरीपालनले एकातिर मह आपूर्ति गर्छ भने अर्कातिर तेलहन र खाद्यान्न बालीको उत्पादन वृद्धिमा सघाउँछ।
कृषि विकास महाशाखाको तथ्यांक अनुसार पोखरा उपत्यकामा मात्र वार्षिक ९० टन मह उत्पादन हुने गरेको छ। पोखराका ३३ वटै वडाका किसानहरूको सहभागिता रहने यो मेलाले पर्यटन र कृषिलाई एकै ठाउँमा जोड्दै नयाँ वर्षको उत्साहमा थप मिठास भर्ने अपेक्षा गरिएको छ।
