
काठमाडौं। अमेरिका भागेको चर्चापछि अभियन्ता तथा कलाकार सीताराम कट्टेल धुर्मुसले स्पष्टीकरण सार्वजनिक गरेका छन्। आज सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले आफू स–परिवार अमेरिका पुगेको स्वीकार गरेका छन्।
कट्टेल अमेरिका भागेको, उतैको ग्रिनकार्ड लिएको र पेट्रोल पम्प तथा क्लिनर सपमा लगानी गरेर बसेको भन्दै समाचार सार्वजनिक भएपछि धुर्मुसले ‘बकपत्र’ सार्वजनिक गर्नुपरेको हो। उनले आफूहरूले अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ लिएको स्वीकार गरेका छन्। तर, यो रहरले नभई बाध्यताले लिएको प्रस्ट्याएका छन्।
नेपालमा रहँदा छोरीको उपचार गर्न आर्थिक हैसियतले नभ्याउने र अमेरिकामा कम आम्दानी भएकाका लागि उपचारमा सुविधा हुने भएकाले छोरीको स्वास्थ्यका लागि ग्रिनकार्ड एप्लाइ गरेको उनले बताएका हुन्। धुर्मुसले पहिलो पटक आफ्नी १३ वर्षीया छोरी सुविहानीको गम्भीर स्वास्थ्य समस्याबारे खुलेर कुरा गरेका छन्। जन्मेको १६ दिनमै म्यानेन्जाइटीसको सिकार भएकी छोरीको दाहिने खुट्टाको हड्डीमा इन्फेक्सन भएको उनले उल्लेख गरेका छन्।
सार्वजनिक भएका समाचारहरूमा दाबी गरिएजस्तो आफूले अमेरिकामा कुनै व्यवसाय सुरु नगरेको धुर्मुसको दाबी छ। भरतपुरस्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ४३ लाख रुपैयाँको ऋणको भारी अझै आफ्नो टाउकोमा रहेको भन्दै उनले राज्यप्रति आक्रोश पोखेका छन्। भरतपुर महानगरपालिकालाई करिब ६० करोड बराबरको भौतिक संरचना र साढे २ करोडको निर्माण सामग्री जिम्मा लगाउँदा पनि आफूलाई ‘ठग’ करार गर्न खोजिएकोमा उनले दुखेसो गरेका छन्।
