
पोखरा । फोनिज गण्डकी प्रदेशले ‘निट पत्रकारिता पुरस्कार-२०२५’ बाट वरिष्ठ पत्रकार भरत कोइरालालाई सम्मानित गरेको छ। निट डेण्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित भव्य समारोहमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले कोइरालालाई नगद २५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र प्रदान गरे। फोनिज संघीय सचिव एमबी आस्था मगरको संयोजकत्वमा गठित छनोट समितिमा गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, अध्यक्ष खीमा गुरुङ, अनुशासन समिति संयोजक मीना थापा मगर र महासचिव सुरज थापा मगर सदस्य थिए। पुरस्कारका लागि कम्पनीले गत सातै पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेको छ, जसअन्तर्गत पुरस्कार वार्षिक रूपमा प्रदान गरिने निट उपाध्यक्ष सुमन गुरुङले जानकारी दिए।
स्याङ्जा पुतलीबजारका कोइराला हाल समाधान मिडिया ग्रुपअन्तर्गत समाधान न्यूज डटकमका सम्पादक हुन्। उनले अन्नपूर्ण पोस्टबाट २०५९ सालमा काठमाडौंमा पत्रकारिता सुरु गरेका थिए। आदर्श समाज दैनिकका पूर्व-सम्पादक समेत रहेका कोइराला २०६५ देखि पोखरामा क्रियाशील छन्। पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर उनी लेकसिटी कलेज र भद्रकाली माविमा अध्यापन गर्दै आएका छन्।
उनी पोखरा आर्थिक पत्रकारिता पुरस्कार, गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार र रोयल पत्रकारिता पुरस्कारका समेत प्राप्तकर्ता हुन्। समारोहलाई सम्बोधन गर्दै मेयर धनराज आचार्यले प्रत्येक क्षेत्रमा अव्यवस्था देखिए पनि पत्रकारिताले जनतालाई सही सूचना दिन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले पुरस्कृत पत्रकार कोइरालासहित निट डेन्टलद्वारा सम्मानित व्यक्तित्वलाई बधाई दिए।
नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले फोनिजले स्थापना गरेको पुरस्कार पहिलो पटक गैरफोनिज पत्रकारलाई प्रदान गर्नु सकारात्मक कदम भएको बताए। वेलनेस टुरिजमको केन्द्र बन्दै गएको पोखरामै दन्त उपचार अत्यन्त महँगो हुने अन्तर्राष्ट्रिय सन्दर्भ दोहोर्याउँदै उनले निट डेन्टलले प्रदेशमै आफूलाई स्थापित गर्न सक्ने विश्वास व्यक्त गरे।
पुरस्कार पाएका कोइरालाले अवसर र विश्वासका लागि फोनिज तथा चयन समितिप्रति आभार व्यक्त गरे। उनले “समाजमा आश गर्न सकिने ठाउँ भनेको निजी क्षेत्र हो” भन्दै निजी क्षेत्रले स्थापना गर्ने पुरस्कारहरुलाई नकारात्मक दृष्टिले मात्रै नहेर्न आग्रह गरे। निट डेन्टलका प्रबन्ध निर्देशक वीरबहादुर (भीरेन) रानाले सामाजिक गतिविधिमा संलग्न हुँदै आएको निटले यस वर्ष पत्रकारिताको हितमा पनि योगदान दिन चाहेको बताए। “धनाढ्य भएर होइन, केही नयाँ गरौँ भनेर पुरस्कार स्थापना गरिएको हो,” उनले स्पष्ट पारे।
फोनिज गण्डकी अध्यक्ष खीमा गुरुङको अध्यक्षतामा सम्पन्न समारोहमा उपाध्यक्ष सुमन गुरुङले स्वागत र महासचिव सुरज थापा मगरले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा निट डेन्टलका चिकित्सक तथा कर्मचारीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो।
एलिसा गुरुङ र सरु खत्रीले प्रस्तुत गरेका आकर्षक नृत्यले कार्यक्रमलाई झनै मनोरञ्जनपूर्ण बनायो। पोखराको महेन्द्रपुल मेडिकल लाइनमा सञ्चालनमा रहेको निट डेन्टल केयर तीन वर्षदेखि गुणस्तरीय सेवा दिँदै आएको छ। यसको माथिल्लो तलामा आइवा एजुकेशन कन्सल्टेन्सी पनि सञ्चालनमा छ।
