
पोखरा । पोखरा महानगरपालिका-१६ स्थित महेन्द्र गुफा परिसरमा आज सम्पन्न मौरी पालन तथा मह मेला-२०२५ ले मौरीपालन व्यवसायलाई थप परिचय, प्रवर्द्धन र प्राविधिक ज्ञानमार्फत मजबुत बनाउने महत्वपूर्ण भूमिका खेलेको छ। मेलामा पोखरा महानगरभित्र यस वर्ष करिब ९० मेट्रिक टन मह उत्पादन भएको तथ्यांक प्रस्तुत गरिएको थियो।
महोत्सवमा मह उत्पादन कसरी, कहिले र किन गर्ने भन्ने विषयमा विज्ञहरूले विस्तृत प्रस्तुति राखे। मौरी पालनका क्रममा ध्यान दिनुपर्ने स्वास्थ्य, मौसम, घाँसे र काठे प्रजाति व्यवस्थापन, रोग-कीराको नियन्त्रण लगायतका पक्षमा एकै थलोमा खुलेर अन्तरक्रिया गरिएको थियो।
महानगरले मौरीपालक किसानलाई प्रदान गर्दै आएको सेवा, प्राविधिक सहयोग तथा आगामी वर्षका योजनाबारे पनि सहभागीहरूसँग प्रत्यक्ष संवाद गरिएको थिए ।
मेलामा स्वदेशी तथा विदेशी पर्यटकसहित स्थानीयहरूको ठूलो भीड देखिएको थियो। कार्यक्रम स्थलमै काटिएको ताजा मह विशेष आकर्षण बन्यो र सहभागीहरूले उत्साहपूर्वक खरिद गरे। आयोजकले उपस्थित अतिथिहरूलाई उपहारस्वरूप ताजा मह वितरण गरेका थिए।
महोत्सवमा सबैभन्दा बढी मौरी पालन गर्ने किसान सम्मान, मौरी पालन क्विज प्रतियोगिता मौरी पालन वक्तृत्व प्रतियोगिता तथा मह काट्ने प्रतियोगितालगायत विविध प्रतिस्पर्धात्मक र रोचक कार्यक्रमहरू भएका थिए । सबै प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिएको थियो।
यस्तै, कार्यक्रम सफल बनाउन योगदान पुर्याएका स्थानीय कृषि सञ्चालक सञ्जाल, मौरी पालक समिति, महानगर कृषि महाशाखा, तथा उपस्थित मौरी विशेषज्ञ र सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेको छ।
महोत्सवले मौरी पालन व्यवसायका नयाँ सम्भावनाहरू र आधुनिक प्रविधिहरूलाई किसान तथा सरोकारवालामाझ प्रभावकारी रूपमा प्रवाह गरेको आयोजकहरूको भनाइ छ।




