
पोखरा । पोखरा महानगरपालिका-१२ ढिकालेथरस्थित शिव मन्दिर नजिक शव भेटिएको घटनामा संलग्न दुई जना २४ घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विहीबार बिहान झाडीमा भेटिएको शव कर्तव्य ज्यान (हत्या) सम्बन्धी घटना रहेको पुष्टि भएको हो।
घटनास्थलमा पुगेर अनुसन्धान गर्दा मृतकको परिचय पोखरा-१६ स्थायी निवासी, हाल रामघाट बस्ने ६० वर्षीय रमेश सुनारका रूपमा खुलेको थियो। मृतकको टाउको र अनुहारमा ढुङ्गाले प्रहार गरेको जस्तो गम्भीर चोट भेटिएपछि मृत्यु कर्तव्य ज्यानबाट भएको अनुमान प्रहरीले गरेको हो।
घटनास्थलमा तालिमप्राप्त प्रहरी कुकुरसहितको टोली परिचालन गरी गरिएको सूक्ष्म अनुसन्धानपछि घटना मद्यपानका क्रममा भएको विवादबाट हत्या भएको पत्ता लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हत्या अभियोगमा कास्की फुलबारी बस्ने ३२ वर्षीय हरिराम बुर्लाकोटी तथा रामपुर-४, पाल्पाका ३८ वर्षीय कृष्ण बहादुर भुजेल (कृष्ण बहादुर थापा) लाई पक्राउ गरिएको हो।
गत बुधबार राति मृतक र अभियुक्तहरू सँगै गएर रक्सी सेवन गर्दै विवाद सुरु भएको। विवाद झैझगडामा बदलिँदा कृष्ण बहादुर भुजेलले हातमुक्का र ढुङ्गाले टाउकोमा प्रहार गरी सुनारको हत्या गरेको खुलेको छ ।
त्यसपछि हरिराम बुर्लाकोटीको सहयोगमा शवलाई केही तल झाडीमा फालेर दुबै जना फरार भएको बुझिएको छ भने घटना स्थलबाट चप्पल १ जोडी, टोपी १ थान र घटना भएको ढुङ्गा बरामद भएको प्रहरीले जनाएको छ ।
कृष्ण बहादुर भुजेललाई २५ गते दिउँसो २ बजे पोखरा-१० बाट पक्राउ गरिएको छ भने हरिराम बुर्लाकोटीलाई २६ गते बिहान १ बजे पोखरा-१२ सरस्वती स्कूल नजिक फेला पारेको छ ।
दुवै अभियुक्तलाई आज कास्की जिल्ला अदालतमा पेश गरी ५ दिन म्याद थप अनुमति लिएपछि कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले घटनाका अन्य पक्षसमेत खुलाउने उद्देश्यले अनुसन्धान जारी राखेको जनाएको छ।
